arrow

विपद्मा परेर दुई सय ८५ को मृत्यु, २७ बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २० सोमबार
ndrrma-rastriya-bipad-jokhim.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । यस वर्षको वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ । आइतबारसम्मको विवरणअनुसार अन्य २७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणकी प्रवक्ता शान्ति महतले आइतबार मात्रै ४४ जनाको मृत्यु भएको र पाँच जना बेपत्ता रहेको बताइन् । सबैभन्दा बढी आइतबार मात्रै इलाममा ३७ जनाको पहिरोमा परेर ज्यान गएको र पछिल्लो प्रणालीबाट ५० जिल्ला प्रभावित भएको उनले जानकारी दिइन् ।

प्राधिकरणका अनुसार वैशाखयता सबैभन्दा बढी सर्पदंशबाट मात्रै ८६ जनाको मृत्यु भएको छ । त्यसपछि पहिरोमा परेर ४६ तथा चट्याङबाट ४५ जनाको मृत्यु भएको हो । 

प्राधिकरणले सार्वजनिक गरेको विपद्जन्य घटनाको अभिलेखमा बाढीका कारण ३०, भारी वर्षाबाट छ, आगलागीबाट २३, हावाहुरीका कारण आठ, जनावरको आक्रमणबाट २२ र लेक लागेर १९ जनाको मृत्यु भएको उल्लेख छ । 

यस्तै बाढीबाट २३ जना, पहिरोका कारण तीन र जनावरको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । हालसम्म चार हजार ६५ वटा विपद्जन्य घटना भएको र ती घटनामा परेर एक हजार ७२ जना घाइते भएको पनि प्रवक्ता महतले बताइन् । 

कुल सात हजार २११ परिवार ती विपद्बाट प्रभावित भएको उनले जानकारी दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ