सगरमाथा क्षेत्रमा असामान्य हिमपात: पर्यटन याम प्रभावित, पाँच होटलमा क्षति
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
897
Shares
सोलुखुम्बु। सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु भएसँगै पर्यटकीय याम सुरु हुने बेलामै असामान्य हिमपात भएको छ। हरेक वर्ष असोज अन्तिम सातादेखि चहलपहल बढ्ने खुम्बु क्षेत्र यसपटक असोजको तेस्रो सातामै हिउँले सेताम्य बनेको छ, जसलाई दुर्लभ घटना मानिएको छ।
गत आइतबार बिहानदेखि सुरु भएको भारी वर्षापछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिउँ परेको हो। दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्रमा हिउँ जमेको स्थानीयले बताएका छन्। खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार आइतबारको हिमपातले माथिल्लो क्षेत्रका छानामाथि चार फिटभन्दा बढी हिउँ जमेको थियो।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएको जानकारीअनुसार दिङ्बोचे क्षेत्रका पाँच वटा होटल जस्तासहितका संरचना हिउँको भार सहन नसकी भासिएका छन्। प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरले मानवीय क्षति नभए पनि आर्थिक क्षति भएको बताए। असामान्य समयमा परेको हिमपातले पर्यटन याम सुरु भइसकेका बेला व्यापारीलाई थप चिन्तित बनाएको छ। हिमपातका कारण खुम्बुमा निर्माणाधीन आमा दब्बलङ्ग जलविद्युत् आयोजनाको काम पनि रोकिएको छ।
खुम्बुमा असोजमै हिउँ पर्नुलाई असामान्य मौसमी परिवर्तनको सङ्केत मानिएको छ। सामान्यतया मङ्सिरदेखि माघमा मात्रै बाक्लो हिमपात हुने यस क्षेत्रमा असोजमा हिउँ पर्नु जलवायु परिवर्तनको सङ्केत भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताए। वातावरणविद्का अनुसार, तापमान वृद्धि र वर्षाको असन्तुलनका कारण हिमाली क्षेत्रमा मौसमको स्वरूप अनिश्चित बन्दै गएको छ।
यसैबीच, महाकुलुङ गाउँपालिका–३ स्थित मेरापिक हिमाल आरोहणका क्रममा यही असोज २० गते कोरियाली नागरिक टेजुुन पार्कको मृत्यु भएको छ। मौसम प्रतिकूल भएपछि बेपत्ता भएका पार्कको शव ६,१०० मिटर उचाइमा फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, अत्यधिक चिसो र अक्सिजनको कमीका कारण उनको ज्यान गएको हुनसक्ने अनुमान छ।
हिमपात र दुर्घटनाका घटनाबीच सोलुखुम्बुमा यस वर्षको दसैँ उत्साहपूर्वक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यद्यपि, माप्य दूधकोसी गाउँपालिका–१ जुभिङमा खुकुरी प्रहारबाट तीन जना घाइते भएको छिटफुट घटना भएको थियो।
यसैगरी, शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले सोलुदुधकुण्ड नगरपालिका–३ फलामखानीका प्रविण विश्वकर्माको घर पूर्ण रूपमा बगाए पनि परिवारका सदस्य सकुशल रहेका छन्। उक्त घटनामा एक राँगो र चार वटा बाख्रा मरेका छन्।