विज्ञद्वारा सुरक्षा निकायलाई विपद् सामग्री र तालिममा लगानी गर्न सरकारलाई सुझाव
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
944
Shares
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा विज्ञहरूले विपद् व्यवस्थापनमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक सामग्री र समयानुकूल तालिम उपलब्ध गराउन सरकारलाई जोडदार सुझाव दिएका छन्।
परिषद्का विज्ञ सदस्य डा. गंगालाल तुलाधरले सुरक्षा निकायले सीमित स्रोत र साधनका बाबजुद विपद् व्यवस्थापनमा खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्दै उहाँहरूलाई 'स्यालुट' गर्नुपर्ने बताए। उनले सरकारले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई विपद्का लागि चाहिने सम्पूर्ण औजार, सामग्री सहित आवश्यक तालिमलाई समयानुकूल बनाई सुसज्जित गराउनुपर्नेमा जोड दिए।
बैठकमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले पनि विपद् व्यवस्थापन र राहत वितरणको विषयमा आफ्ना धारणा राख्दै तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राहत वितरण स्थानीय सरकारको मातहतबाट गर्नुपर्ने र अस्थायी निवासका लागि पाउने रकम स्थानीय पालिकाको सिफारिसमा वितरण गर्नुपर्ने बताए। उनले भत्किएका सडकहरूलाई प्राथमिकतामा राखेर तीनै तहको सरकारले संयुक्त रूपमा निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विपद्को समयमा जतिसक्दो चाँडो भएका क्षतिहरूको यथार्थ विवरण संकलन गर्नुपर्ने बताए। उनले तीनवटै सरकार मिलेर द्रुत गतिमा जनतालाई सेवा दिने विषय बैठकमा राखेको जानकारी दिए।