जब गृहमन्त्रीले चासो दिए : निधिकै गृहनगरबाट सीके राउतलाई हत्कडी
प्रकाशित २०७३ माघ २० बिहिबार
1.8k
Shares
जनकपुर । स्वतन्त्र मधेस अभियान चलाइरहेका सीके राउत गृहमन्त्री विमलेन्द्र निधिको गृहनगरबाटै पक्राउ परेका छन् । गृहमन्त्री निधिको चासोपछि स्थानीय प्रहरीको सक्रियतामा राउत पक्राउ परेका हुन् । सिराहा घर भएका राउत केही समय यता जनकपुरमा डेरा लिएर बस्दै आएका छन् । राउत बिहीबार दिउँसो जनकपुर–४ वसपार्क नजिकैबाट पक्राउ परे । उनलाई पक्रन र सुरक्षा चुनौतीबारे गृहमन्त्री निधिले निकै पहिलेदेखि चासो राख्दै आएका थिए ।
माघ ५ गते राउतले सिराहाको लाहानमा सभा गर्दै देश टुक्राउने अभिव्यक्ति दिएपछि गृहमन्त्री निधिले गतिविधि नियाल्न प्रहरीलाई निर्देशन दिएका थिए । विपक्षी पार्टीहरुले समेत राउतलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना गर्दै आएका थिए । प्रहरीले सीके राउतका अल्पकालीन र दीर्घकालीन राणनीतिहरुको अनुन्धान रिपोर्ट समेत तयार पारिसकेको छ ।
प्रहरीले सीके राउतका विभिन्न पर्चा र योजनाहरु भेटेकाले राज्य विप्लवको मुद्दा लगाउने तयारी गरेको छ । यसअघि, राज्य विप्लवको मुद्दामा राउतले विशेष अदालतबाट सफाइ पाएका थिए ।
प्रहरीले अनुसन्धानका क्रममा बुझेको सीके राउतको राज्य विपल्वको योजना र रणनीति
अल्पकालीन रणनीति
-स्कुल तथा कलेजका युवाहरुलाई यस गठबन्धन संग आबद्ध गराउने ।
-मधेशका जिल्लाहरुमा वडा ईकाई सम्मको समिति गठन गर्ने ।
-अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नको लागी युवा दस्ता भर्ना तथा सो दस्तालाई शारिरिक व्यायाम गराई सैन्य प्रशिक्षण प्रदान गरी रहेको भ्रामक सामग्री प्रसारण गर्ने जस बाट अन्तर्राष्ट्रिय क्षेत्रमा स्वतन्त्र मधेश गठबन्धनको प्रभावकारीताको जानकारी गराई यसलाई प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग प्राप्त गर्ने ।
-प्रत्येक जिल्लाका जिल्ला स्तरीय नेताहरुलाई प्रत्येक दिन कम्तिमा २ देखि ५ कार्यकर्तालाई गठबन्धनसँग आवद्ध गराउने, राज्य बिरोधी भावनालाई चोक/बजार/चिया पसलहरुमा गफको बिषय बनाउने ।
-आन्दोलनको क्रममा राज्यका सुरक्षा संयन्त्र अन्यत्र ब्यस्त भएको मौका छोपी ग्रामिणस्तरमा संगठन बिस्तार गर्ने तथा प्रचार-प्रसार कार्यलाई तिब्र बनाई स्थानिय तहमा संगठन मजबुत बनाउने ।
-यस संगठनको पकड मजबुत रहेको स्थानहरुमा नमुना जनमत संग्रह गरी अन्तराष्ट्रिय स्तरमा आफ्नो पक्षमा अत्याधिक जनमत रहेको भनि भ्रम सृजना गर्ने ।
-यस जिल्लाको दक्षिणी भेग सन्हैठा, हाकपारा तथा बरियारपट्टी लगायतका क्षेत्रहरुमा प्रचारप्रसार कार्यलाई तिब्र बनाई सिमाबर्ती क्षेत्रहरुमा युवा भर्ना तथा नमुना जनमत संग्रह कार्यलाई तिब्र बनाई स्थानिय युवाहरुलाई आकर्षित गर्ने ।
-मधेशका सिमाबर्ती क्षेत्रलाई यस गठबन्धनको मुख्य SHELTER तथा गतिबिधीहरुको केन्द्र बनाउने ।
-युवाहरुमा नेपाल सरकार बिरोधी भावना जागृत गराउन आन्दोलनका क्रममा मारिएका परिवार, घाईते तथा केही भुमिगत शसस्त्र समुहसँग आबद्ध ब्यक्तीहरुलाई परिचालन गर्ने ।
-राज्यको स-साना त्रुटीलाई विभेदकारी नीति भनि युवाहरुमा राज्य विरुद्ध लाग्न उत्प्रेरित गर्ने ।
-सैन्य दस्ता तयार पारी रहेको भ्रम पार्न केही स्कुल तथा कलेजहरुमा शारीरीक अभ्यास गराई अन्तराष्ट्रिय टि.भी., पत्रिकाहरुमा प्रशारण गर्न लगाउने ।
-कम्तीमा १०/१२ बर्ष अवधीमा मधेश राज्य स्वतन्त्र गराउने रणनितीको ब्यापक प्रचारप्रसार गर्ने/संगठन विस्तार गर्ने/कोणसभा/पर्चा पम्पलेटिङ गर्ने/श्रव्यदृष्य सामाग्री मार्फत युवाहरुमा राज्य विरोधी भावना जगाउने ।
-AIM भन्ने किताब प्रकाशित भएको छ, डा. सीके राउतद्धारा लिखित यस किताबमा राज्य विरोधी भावना तथा युवाहरुलाई ALLIANCE FOR INDEPENDENT MADHESH (AIM) मा आवद्ध गराउन मधेश भरि वितरण गरी प्रचार प्रसार गर्न लगाउने ।
दीर्घकालीन रणनीति
-राज्यसँग संघर्ष गर्न सैन्य संरचना गठन गर्ने ।
-हाल मधेशको विभिन्न जिल्लामा भई रहेको नमुना जनमत संग्रहलाई आधार बनाई नेपाल राज्यवाट मधेशलाई अलग गराउने नीति अनुरुप केही वर्ष भित्र स्वतन्त्र मधेशको लागि जनमत संग्रह गराउन मुख्य माग राखि शान्तिपूर्ण आन्दोलन गर्ने तत्पश्चात माग पुरा नभएको खण्डमा सशस्त्र संघर्षमा जाने ।
-मधेश क्षेत्रमा अन्तराष्ट्रिय जगतलाई हस्तक्षेपको लागी आग्रह गर्ने यसलाई स्वतन्त्र राज्य रहेको भनि भ्रामक प्रचारप्रसार जारी राख्ने ।
-शिक्षक, विधार्थी तथा अन्य युवावर्गलाई पुर्णरुपमा हातहतियार तथा विष्फोटक पदार्थको तालिम गराई संघर्षको अन्तिम चरणमा परिचालन गर्ने ।
-अन्तर्राष्ट्रिय जगतमा अहिंसात्मक आन्दोलन हो भनि भ्रम पारी दीर्घकालीन रुपमा सशस्त्र संघर्षको तयारी गर्दै जाने ।
-देश भित्र रहेको अन्य विखण्डनकारी शक्तिवद्धसँग ऐक्यवद्धता जनाउने र समदुरीमा रही सहकार्य गर्ने भारतीय राजनैतिक व्यक्तित्वहरुसँगको सम्पर्क/सम्वन्ध सुमुधुर राख्ने तथा प्रत्यक्ष/परोक्ष सहयोगको लागी वातावरण तयार पार्दै लाने ।
-युरोपियन युनियन/संयुक्त राज्य अमेरिका लगायतका शक्तिशाली राष्ट्रलाई मधेश एक स्वतन्त्र देश थियो, यस्लाई नेपाल सरकारले अतिक्रमण गरेको छ,यसलाई मुक्त गराउन आवश्यक सहयोग गर्न आग्रह गर्दै जाने ।
-मधेशवादी पार्टीहरुको गतिविधिलाई समर्पणवादी तथा मधेशको गद्दार सावित गरी उक्त पार्टीका कार्यकर्तालाई आफ्नो संगठनमा आवद्ध गर्दै लाने ।
-राज्यको प्रत्येक निकायको मधेशमा रहेको कार्यक्रमद्वारा सम्पादन गरीने कार्यलाई बिभेदकारी रहेको, दमनकारी रहेको तथा राज्यका निकायहरुको भुमिका शासकको रहेको भनि आम जनमानसमा भ्रम पार्ने र राज्यको भुमिका कमजोर पार्ने ।
-राज्यको आर्थिक गतिविधिलाई कमजोर बनाई सरकारलाई आफ्ठ्यारो पार्ने तथा मधेशमा राज्यको उपस्थितीलाई कमजोर पार्न विभिन्न समुहहरु परिचालन गर्ने ।
-FACEBOOK, VIBER, WATSAPP लगायतको संचार सुविधाको व्यापक दुरुपयोग गरी नेपाल सरकार विरोधी भावना जागृत गराउन निरन्तर प्रयास जारी राख्ने ।