arrow

गौरीघाट-गुह्येश्वरी पुल पुनःनिर्माण सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
road-guhiyeshori.jpg

काठमाडौँ। पशुपति क्षेत्रस्थित गौरीघाटदेखि गुह्येश्वरी मन्दिर जाने पुल करिब एक वर्षपछि निर्माण सम्पन्न भएको छ। पुल निर्माणमा आधुनिक सामग्री प्रयोग गर्न खोजिएपछि पुरातत्व विभागले रोक्दा अलपत्र परेको पुल पुरानै स्वरूपमा बनाउन काठमाडौँ महानगरपालिका सहमत भएको थियो।

काठमाडौँ महानगरपालिकाले ठेक्का गरी भत्काएको करिब सात महिनासम्म पनि पुलको काम अघि बढ्न सकेको थिएन। विश्वसम्पदा क्षेत्रमा निर्माण गर्दा अपनाउनुपर्ने मापदण्डविपरीत निर्माण व्यवसायीले आधुनिक निर्माण सामग्री प्रयोग गर्न खोजेपछि पुरातत्व विभागले पुरानै स्वरूपमा बनाउनुपर्ने भन्दै निर्माण रोकेको थियो।

विभागका प्रवक्ता रामबहादुर कुँवरले निर्माण व्यवसायी प्राचीन सामग्रीकै प्रयोगबाट पुल बनाउन सहमत भएपछि निर्माण अनुमति दिइएको बताए। काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सँगतले विभागको निर्देशन अनुसारकै सामग्री प्रयोग गरेर पुल निर्माण गरिएको बताए।

पुल अलपत्र पर्दा विशेषगरी पशुपति क्षेत्र आउने भक्तजनलाई समस्या भएको थियो। विगतमा मोटरसाइकल, ट्याक्सीलगायत साना सवारीसाधन आवतजावत गर्ने पुल एक वर्षदेखि बन्द हुँदा भक्तजन घुमेर गुह्येश्वरी मन्दिर जान बाध्य थिए। पैदलयात्रुलाई समेत अप्ठ्यारो अवस्था आएको थियो।

गुह्येश्वरीमा धार्मिक अभियान चलाउँदै आएका धर्मराज बरालले पुल निर्माण नहुँदा पर्यटकलाई समेत समस्या भएको बताएका थिए। यसैबीच, स्थानीयवासीले पुरानो पुल भत्काउँदा निकालिएका इँटाहरू चोरी भएको गुनासो गरेका छन्। गौरी आध्यात्मिक मासिक पत्रिकाका सम्पादक अर्जुन लामिछानेले पुल भत्काउँदा भेटिएका श्री ५ त्रिभुवन र श्री ३ चन्द्रशम्शेर लेखिएका ऐतिहासिक एवं पुरातात्विक महत्त्वका इँटाहरू हराएको भन्दै सरोकारवाला निकायले जवाफ दिनुपर्ने माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ