लिबाङ (रोल्पा) । शुक्रबार एकाबिहानै रोल्पाका प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्राईले झाडु लगाएपछि टुडिखेलको मुहार फेरिएको छ । रोल्पा सदरमुकामको मुटु मानिएको टुडिखेलमा थुपारिएका सुन्तलाका बोक्रा सहितको सम्पूर्ण फोहर ब्यवस्थान भएको छ । यत्रतत्र छरिएका निर्माण सामाग्रीहरु ब्यवस्थित भएका छन् भने टुडिखेलमा पार्किङ गरिएका यातायातका साधनहरु पनि हटाइएको छ ।
घण्टौं हिडेर डोकोमा सुन्तला बेच्नकै लागि सदरमुकाम आएको टोलीलाई लाइन लगाएर ब्यवसाय संचालन गर्न निर्देशन दिइएको छ भने सुन्तलाका बोक्राहरु ब्यवस्थित रुपले जम्मा गर्नका लागि डस्टबीन हरुको पनि उचित ब्यवस्थापन भएको छ ।
प्रजिअ डा. भट्राइले रबरका पञ्जा लगाएका हातले झाडु समाएर टडिखेल बढार्न थालेपछि स्थानीय विकास अधिकारी सुशील बैद्य, प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगर, लिबाङ नगरपालिकाका कार्यकारी अधिकृत निमबहादुर केसी, जिल्ला विकास समिति रोल्पाका सरसफाइ फोकल पर्सन दामोदर प्रसाद सुवेदी सहित प्रहरीको ठूलो समूहले उनलाई साथ दिएको थियो । प्रहरी नायव उपरिक्षक घर्तीमगर भने हातहालेर नाला सफा गर्ने अभियानमा ब्यस्त देखिए ।
यसरी टुडिखेल वरपरको सरसफाइ अभियान सकिए लगत्तै प्रजिअ डा. भट्राईले भने “यदि हामी सरसफाइमा युक्त समाजमा बस्न चाहन्छौं भने हामीले हाम्रो फोहर ब्यवस्थापन आफै गरौं । आफ्नो घरवरपरको फोहर ब्यवस्थापनका लागि अरुको मुख नताकौं । हाम्रो अभियान सफा रोल्पाको अभियान हो । म रोल्पामा बसुञ्चेल सफा रोल्पामा बस्न चाहन्छु त्यसैले आउनुस यो अभियानमा तपाई हामी सबै संगै हातेमालो गरेर अघि बढौं ।”
स्थानीय विकास अधिकारी सुशील बैद्यले जिल्लाको सरसफाइ अभियानमा कर्मचारी र प्रहरीको सक्रियतालेमात्र पूर्णता पाउन नसक्ने भएकोहुँदा स्थानीय बासीहरुपनि जुट्नुपर्नेमा जोड दिए । उनले नगरबासीलाई भने “आउनुस् जिल्लाको सरसफाइ अभियानमा संगै हातेमालो गरेर अघि बढौं त्यसका लागि जिविस रोल्पाले जस्तो सुकै समन्वयकारी भूमिका निर्वाह गर्न तयार छ ।”
यस्तै प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरका अनुसार जिल्लाको सरसफाइ प्रहरीले मात्र गरेर संभव हुँदैन । गाउँ, टोल र समाजलाई सुन्दर अनि सफा बनाउने दायित्व सबैको हो भन्नका लागि प्रहरीले जनचेतना फैलाउदै आएको हो । यसमा स्थानीय बासीले पनि साथ दिनुपर्छ । कर्मचारी त आज आउछ भोली जान्छ तर नगर नगरबासी स्थायी रुपमा नगरमै बस्ने भएको हुँदा सरसफाइमा सबैको चासो र चिन्ता हुनुपर्छ । नेपाल प्रहरीको साप्ताहिक कार्यक्रम अनुसार रोल्पा प्रहरीले सरसफाई अभियानमा साथ दिदै आएको छ ।
त्यसैगरी लिबाङ नगरपालिकाका कार्यकारी अधिकृत निमबहादुर केसीले सड्ने फोहर र नसड्ने फोहरलाई घरभित्रबाटै ब्यवस्थापन गर्नसके सरसफाइ अभियानमा थप सहयोग मिल्ने बताउनु भएको छ । उनले भने “घरवरपर मात्र होइन सार्वजनिक स्थल पनि तपाई हाम्रै सम्पत्ती भएको हुँदा सरसफाइमा सबैले बिशेष ध्यान दिने गरौं । दिनहु घर सफा गर्ने र साप्ताहिक रुपमा सार्वजनिक स्थल सफा गर्ने अभियानमा जुट्न सके अवश्य पनि फोहर ब्यवस्थापन हुन्छ ।
यस्तै जिविस रोल्पाका सरसफाइ फोकल पर्सन दामोदरप्रसाद सुवेदीका अनुसार नयाँ प्रजिअले जिल्लामा आए लगत्तै सरसफाइका क्षेत्रमा चासो देखाएका छन् । यसलाई निरन्तरता दिन सके अवश्य छोटै समयमा जिल्लालाई पूर्ण सरसफाइका क्षेत्रमा अघि बढाउन सकिने उनको भनाइ छ ।
कर्मचरी र प्रहरीले थालेको सरसफाइ अभियानमा स्थानीयबासीको उपस्थिति नभएपनि बयोबृद्धि दुर्गाप्रसाद आचार्य भने उपस्थित भए । कार्यक्रममा पत्रकारहरुको पनि सक्रिय उपस्थिति रहेको थियो ।