arrow

पाँचथरको फेमे खोलामा अस्थायी डाइभर्सन निर्माण अन्तिम चरणमा, यातायात सोमबारदेखि खुल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
panchtar-phemkhola.jpg

पाँचथर। पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्न लागिएको छ। गत असोज १८ गतेको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको सडक खुलाउन पूर्वाधार विकास कार्यालय पाँचथरले तीव्र गतिमा काम गरिरहेको छ।

पूर्वाधार विकास कार्यालय पाँचथरका इञ्जीनीयर मुकेश शाहले फिदिम नगरपालिका–१ र ११ को सीमामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण भइरहेको र डाइभर्सन तथा पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना रहेको जानकारी दिए।

यस सडकले फिदिम नगरपालिकाका १० देखि १३ नम्बर वडा तथा फालेलुङ गाउँपालिकाका ३ देखि ८ वडालाई सदरमुकाम फिदिमसम्म जोड्छ। सडक अवरुद्ध भएपछि यात्रुहरू खोलाको वारिपारी रहेका सवारीसाधनसम्म पुग्न करिब १५ मिनेट पैदलयात्रा गरेर खोला पार गर्दै आएका छन्।

गत वर्षको असोज १२ गतेको बाढीले यहाँ रहेको सडक पुल बगाएको थियो। त्यसपछि अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएकोमा गत जेठमा स्थायी डाइभर्सन निर्माण गरियो, तर उक्त स्थायी डाइभर्सन पनि असोज १८ गतेको बाढीले बगायो।

फेमे खोलामा बेलिब्रिज जडानको प्रक्रिया अघि बढे पनि बजेट अभावका कारण काम हुन सकेको छैन।

यात्रुहरू आवतजावत गर्नका लागि नेपाली सेनाको फिदिमस्थित वीरदल गणले फड्के निर्माण गरे पनि सामग्री ढुवानी, स्थानीय उत्पादनको निकासी, बिरामी तथा असक्तलाई खोला पार गराउन भने समस्या पर्ने गरेको स्थानीय लोकबहादुर बुढाथोकीले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ