काठमाडौंको अव्यवस्थित तारको व्यवस्थापनमा नेतृत्व लिन महानगरलाई आग्रह
प्रकाशित २०७३ माघ २१ शुक्रबार
1.6k
Shares
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विजुलीका खम्बाहरुमा टाँगिएका अव्यवस्थित तारहरुको व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सूचना तथा सञ्चार मन्त्रालयले काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ ।
सेवाप्रदायकले टाँगेको तारबाट सृजित समस्या समाधानकालागि ठोसका काम गर्नु पर्ने खाँचो देखाउँदै सञ्चार सचिव महेन्द्रमान गुरुङ्ले यसको नेतृत्व गर्न महानगरलाई आग्रह गरेको महानगरले जनाएको छ । शुक्रबार सूचना तथा सञ्चार मन्त्तालयमा आयोजना गरिएको सरोकार निकायका अधिकारीवीचको सहरमा तार व्यवस्थापन विषयक बैठकमा महानगरको भूमिकाका विषयमा बोल्दै सचिव गुरुङले यस्तो बताएका हुन् ।
बैठकमा सहरी सुरक्षा र सुन्दरतामा टेलिकम्युनिकेसन तथा इन्टरनेट सेवाका तारले पुर्याएको समस्या समाधान गर्न महानगरपालिकाले नमूना परियोजना अघि सार्ने जनाउँदै प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ्गले वैठक बसेरभन्दा काम गरेर परिणाम आउने बताए ।
सूचना सञ्चार तथा सूचना प्रविधि नागरिकको दैनिक आवश्यकता बनेको सन्दर्भमा सेवा सञ्चालन वृद्धि गर्नु पर्ने आवश्यकताकावीच आवश्यकताका नाममा सृजना भएको समस्या समाधानमा महानगरले नेतृत्व लिने प्रमुख तथा कार्यकारी अधिकृत तामाङ्गको भनाइ थियो ।
बैठकले आगामी हप्ता महानगरले सरोकारवाला निकायसँग बैठक आयोजना गरी नमूना कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।