arrow

वन बन्यो बाधक

दिगो विकास पर्खाइमा पुरन्धारा छहरा: प्राकृतिक उपहारबाट आर्थिक उपार्जनको प्रचुर सम्भावना

वन सम्पदाको उपयोगबाट आर्थिक लाभ, रोजगारी र उत्पादन

logo
नारायण वली,
प्रकाशित २०८२ असोज २८ मंगलबार
purandhara chhahara-final-3.jpg

लुम्बिनी । विकास र समृद्धिको प्रमुख आधार प्राकृतिक स्रोत तथा सम्पदाहरु हुन् । प्रकृतिले आफ्ना सतह, भूगर्भ र पर्यावरणमा निःशुल्क रुपमा दिएका उपहार कुनै पनि मुलुकको दिगो विकास, प्रगतिका आधार हुन् तर ती स्रोतहरुले आफैँ उपयोगिता सिर्जना गर्न भने सक्दैनन् । 

त्यसको उपयुक्त व्यवस्थापन, संरक्षण र उपयोग गरेर नै स्रोतले उपयोगिताको सिर्जना गर्ने गर्दछ । नेपाल प्राकृतिक स्रोत सम्पदा प्रचुर भएको मुलुक हो । कतिपय प्राकृतिक स्रोत अहिले पनि पवित्र छन्, जसले विकास र समृद्धिको ठुलो सम्भावना बोकिरहेको पाइन्छ । 

यस्तै सम्भावना बोकेको झरना हो दाङको ऐतिहासिक रुपमा महत्वपूर्ण ठानिएको पुरन्धारा झरना । पर्यटकीय दृष्टिकोणले आकर्षक देखिने झरनाको दृश्यावलोकन निकै मनमोहक छ। बबई गाउँपालिका वडा नम्वर ५ बवरपुरस्थित मथुरेकोट नजिकै रहेको ४५ फिट उचाइ रहेको छहराबाट बगेको पानी नजिकैको बबई नदीमा मिसिन्छ । 

जिल्लाको सदरमुकाम घोराहीदेखी ५५ किलोमिटर पश्चिममा रहेको झरना पहिले ४ सय मिटरको उचाईमा रहेकोमा संरक्षणको अभावमा जीर्ण बन्दै गएपछि उचाई घटेर हाल ४५ फिट रहेको जनाइएको छ । 

प्राकृतिक बनावट रहेको छहराको पौराणिक धार्मिक महत्वसँग जोडिएको स्थानीय बताउँछन् । हापुरे बजारदेखि करिव १० किलोमिटर पश्चिम घनाजंगलमा रहेको छहरा प्राकृतिक सुन्दरताको एउटा नमुना देखिन्छ । जहाँ, अवलोकन गर्न पछिल्नो समय दिनहुँजसो आन्तरिक पर्यटकहरु जाने गरेका छन् । 

केही बर्षअघि प्राकृतिक छहराबारे कुनै चासो नभएका बेला सामाजिक सञ्जालले प्रचारप्रसार भएपछि अहिले दैनिकरुपमा पर्यटकहरुको संख्या बढ्दै गएको पाइएको छ । बढ्दो गर्मीयामसँगै झरनाको फेदीमा सेल्फी खिच्ने र पौडी खेल्नेको सङ्ख्या बढेको हो ।

विगतमा भगवान शिवकोसमेत पुजाआजा गर्ने प्रचलन रहेको र पर्यटकीय रुपमा विकास हुँदै गएको छहरासम्म पुग्नका लागि सडक विस्तार भएपनि अझै व्यवस्थित हुन सकेको छैन्, भने जंगलमा भएकाले सुरक्षाको समस्याका कारण पनि उल्लेख्य मात्रा पर्यटकहरु आउन नसकेको स्थानीय दलबहादुर खत्रीले बताए । उनी भन्छन्, गाउँपालिकाले छहराको विकासका लागि राम्रा योजना ल्याउने तयारी गरिरहेको छ । 

बबई गाउँपालिका गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले पुरन्धारा झरनामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउन नयाँ योजना ल्याउनेगरी ०७८/७९ मा हामी डीपीआर बनाउँछौ भनेर लाग्दा वनले आफैले बनाउने भनेर डीपीआर बनायो, तर उक्त डीपीआर डिभिजन वन कार्यालयले स्वीकृति नगर्दा झरनाको विकास हुन नसकेको बताए ।

पालिका अध्यक्ष खत्री भन्छन्, विकासका लागि वन बाधक भयो, पहिले संस्कृति पर्यटन मन्त्रालयबाट केही वजेट आएको र केही पालिकाबाटको वजेटले शौचालय, पिकनिक पार्क लगायत बनाएका छौं । चक्ला (सरकारी) वन र देवीडाँडा सामुदायिक वन उपभोक्ता समुहको सीमा क्षेत्रमा पर्ने झरना 'दुई ढुङ्गाको तरुल' जस्तै बनेकाले विकासका लागि बनाइएको साढे पाँच करोडको डीपीआर स्वीकृति नहुँदा चाहेर पनि वजेट नहुँदा संरक्षण, प्रबद्र्धन गर्न नसकिएको हो । यसबिषयमा विस्तृत कुराकानी गर्नका लागि डिभिजन वन कार्यालय घोराहीमा सम्पर्क गर्दा सम्पर्क सफल हुन सकिन । 

आन्तरिक पर्यटकको आकर्षण
दाङ र अन्य छिमेकी जिल्लाबाट आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने गरेको झरनामा पार्किङ व्यवस्थापनका लागि बबई गाउँपालिकाले खटाएको कर्मचारी दलबहादुर खत्रीले बताउँछन् । खत्री भन्छन्, दैनिक सरदर एकसय जना आन्तरिक पर्यटक झरना अवलोकन एवं वनभोजका लागि आउने गरहेका छन् ।

उनले थपे-विदाको दिन अवलोकन गर्न आउनेको सङ्ख्या बढी हुन्छ, अवलोकन गर्न आउने पर्यटकबाट प्रवेश शुल्क लिने नगरे पनि सवारीसाधन पार्किङवापत शुल्क लिने गरिएको छ । मोटरसाइलको ३०, कार तथा जिपको दुई सय र बसको दुई सय ५० रुपैयाँ लिने गरिएको र सवारी पार्किङ शुल्कको आम्दानीले कर्मचारी व्यवस्थापन, पूर्वाधार निर्माणमा केही टेवा पुगेको छ ।

झरनाको अवलोकन गर्न बिजौरीबाट पहिलोपटक पुगेका २३ वर्षीय निराजन थापाले झरना आकर्षक भएको बताउँदै, 'यति राम्रो झरना होला भनेर सोचेको पनि थिइन', उनले भने, यसलाई अझै व्यवस्थित रुपमा संरक्षण गुर्नपर्छ ।

अर्का आन्तरिक पर्यटक घोराही उपमहानगरपालिका-१० नारायणपुरकी राधिका केसीले झरना संरक्षण तथा संवद्र्धन गरी भौतिक पूर्वाधार निर्माण गर्न सके पश्चिम दाङको विकासले गति लिने बताइन् ।

बन्जिङ जम्पको सम्भाव्यता अध्ययन
छहराको विकासका लागि क्यानोनिङ तथा बन्जिङ जम्पको सम्भाव्यता अध्ययन तथा परीक्षण समेत गरिसकिएको बताइएको छ । क्यानोनिङको परीक्षण गरेका गोविन्द गुरुङका अनुसार स्थानीय तहले तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनसँगै थोरै आर्थिक व्यवस्थापन गर्न सकेमा क्यानोनिङले पर्यटकहरुलाई थप आकर्षण गर्ने विश्वास व्यक्त गरे । 

थप सम्भावना 
झरनासँगै जोडेर पर्यटकका लागि बबई नदीमा जलविहार, प्राकृतिक पदयात्रा, जङ्गली जनावर, चराचुरुङ्गी र जीवजन्तु अवलोकन गराउन सके आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित हुने पर्यटन क्षेत्रका जानकारहरुको सुझाव छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ