अनाैठाे पीडा : रुँदैे ईटाभट्टा पुगेको एक बालक‍‍‍‍‍‍......

‘हामी जस्ता असहाय बालबालिकालाई सहयोग गर्ने अफिस हुन्छ,भन्ने सुनेको छु तर कहाँ हुन्छ नेपालमा कि भारतमा ?’

कविता उपाध्याय, प्रकाशित मिति : २०७३ माघ २२ शनिबार
तस्वीर : कविता, राेल्पा

रोल्पा । गैरीगाउँ ५ तितिम रोल्पाका दीपक डाँगी तीन वर्षअघि ११ वर्षकै उमेरमा रुँदैरुँदै ईटाभट्टा पुगे । मृत्युसँग लडिरहेका बाबुको सल्लाहमा पेट पाल्नकै लागि उनी ईटाभट्टा पुग्न बाध्य भए । डाँगीका अनुसार उनलाई आफ्नी आमाको माया, ममता र स्नेह त के ? झझल्को समेत थाहा छैन । दीपक एक वर्षको हुँदा आमाको मृत्यु भयो । बुबा भारतको सिमलामा करिब २० वर्ष पहिलेदेखि टिप्पर चलाउने काम गर्थे ।

आमाको निधनपछि बुबाले दोश्रो विवाह गरे । जन्म दिने आमा नभएपनि कान्छि आमाबाट डाँगीले आमाको माया पाउँदै आए । तर, अचानक ती आमा विहे भएको २ वर्षपछि माइती घरमै बस्न थालेपछि उनलाई पुनः आमाको अभाव खड्किन थाल्यो ।

दीपकका बुवा रोजगारीबाट कहिलेकाँही घर फर्कन्थे । उनले टाढैबाट भएपनि बाबुको माया पाएका थिए । दुर्भाग्य, बुबा दुर्घटनामा परे ।  दुर्घटनामा बेहोसी बुबा केही महिनापछि सामान्य होसमा आएपनि दुबै खुट्टाले काम गर्न सक्ने अवस्था रहेन । उपचारका क्रममा उनका  दुबै खुट्टा काटिए । खुट्टा काटेकै ठाउँमा क्यान्सर बसेपछि झन् उनको जीवन न्वर्ग नै भयो ।

क्यान्सर निको हुने आशमा उपचारार्थ करिब ५ लाख बढी खर्च भयो । त्यो पैसा अर्च गरेको साह्रो मात्रै भयो । अन्ततः न दीपकका बाबु रहे न भएको जायजेथा । आमाको मृत्यु र बुबाको छट्पटीले विक्षिप्त दीपक कामको खोजीमा ईटाभट्टा जान बाध्य भए । दीपकका बुवाले अन्तिम भेटमा भनेका शब्दले अहिले पनि उनलाई भाव विह्वल बनाउँछ । ‘बाबु ! म स्वस्थ भएर बाँचेको भए तलाई ठूलो मान्छे बनाउने थिएँ । आफू एकछाक खाएर भएपनि तलाई सकेजति पढाउने धोको थियो तर तेरो भाग्यले मेरा दुबै गोडा काट्नु प¥यो । त्यसमा पनि क्यान्सर लागेर म जीवन मरणको दोसाधँमा छु । अब तैले तेरो जीउ आफैले पाल्नु पर्छ । तँ ईटाभट्टा जा । त्यही कमाएर दुइ छाक खाएस् । मेरो बाँच्ने सम्भावना रहेन । तेरी आमाले पनि तलाइ छोडीसकी । मलाई नसरापेस् बाबु !’ दीपकका बुबा भक्कानिएर रोएपछि बुबाको आँशु देख्न नसकी कक्षा ४ को पढाई छाडेर ११ वर्षको उमेरमै दीपक गाउँलेहरुको साथमा ईटाभट्टा जान बाध्य भएको, दीपकले सुनाउँदै गए ।    

उनका हजुरबुवा ७६ वर्ष पार गरिसकेका छन् । हजुरआमा ७० वर्षको हाराहारीमा छन् । गर्जो टार्ने आम्दानीको कुनै स्रोत छैन । यसरी काठमाडौं पुगेका बालकले करिब ३ वर्षकोबीचमा काठमाडौंका विभिन्न ईटाभट्टामा काम गरे । दीपकका सहोदर दाजु छन् । उनी पनि आफ्नै जीउ पाल्ने अभियानमा काठमाडौँमै भौतारिरहेका छन् । दीपकका अनुसार उनी कहिले गाडीमा हिड्छन् त कहिले ज्याला मजदुरी गरेर पेट पालिरहेका छन् ।

घरमा रहेका दीपकका बाजे बज्यैले घर नजिकको सानो पाटो बेचेर केही ऋण तीर्ने प्रयास गरेको भएपनि अझै केही रकम बाँकी नै छ । दीपकका फुपाजु गैरीगाउँ–५ तितिम रोल्पाका भीमसेन वलीका अनुसार ११ वर्षको उमेरमा ईटाभट्टा पुगेका दीपकले  करिब ३ वर्षको बीचमा १ लाख को हाराहारीमा कमाएर बुबाको उपचारमा लागेको ऋण तिरेका छन्, भने दीपकका अनुसार अझै केही रकम तीर्न बाँकी नै छ ।

यसरी ईटाभट्टा पुगेका दीपकलाई काठमाडौंस्थित बालविकास समाजले २०७३ माघ अन्तिम साता ईटाभट्टाबाट उद्दार गरी जिल्लामा ल्याइदिएको छ । कामबाट छुटाएर घर फर्काइएका बालकलाई  जिल्ला बाल कल्याण समिति रोल्पाले अभिभावक (फुपाजु) को जिम्मा लगाएपछि अब बाँकी ऋण कसरी तिर्ने भन्ने चिन्ताले दीपकलाई पिरोल्न थालेको छ ।

गरिबलाई दुई छाक टार्नकै चिन्ता हुदो रहेछ । पेट पाल्नकै लागि उनलाई कलिलो उमेरमा ईटाभट्टा पुग्नु परेको हो । बाजे बज्यै वृद्ध भएको हुँदा कार्यालयको सम्पर्कमा आउन नसकेपछि ईटाभट्टाबाट फर्काइएका दिपकलाई उनका फुपाजुको जिम्मा लगाइएको जिल्ला बाल कल्याण समिति रोल्पाका बाल संरक्षण निरीक्षक कपिलदेव भण्डारीले बताए । उनका अनुसार यसरी ईटाभट्टाबाट उद्दार गरिएका बालक दीपक हाल गैरीगाउँस्थित उनका फुपाजुको घरमा बस्दै आएका छन् ।

दीपकलाई तत्काल विद्यालय पठाउनका लागि बाल विकास समाज काठमाडौंले सामान्य रुपमा व्यवस्था गरेको कापी, कलम महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले उनलाई हस्तान्तरण गरेकी छन् । तर त्यसबाहेक झोला, स्कूल पोशाक, तथा अन्य सामाग्रीहरुको उनलाई खाँचो छ ।
विचमै रोकिएको पढाइलाई निरन्तरता दिन पाउने भएपछि दीपक केही उत्साही त छन् । तर फुपाजुको घरमा बसेर उनको पढाइले निरन्तरता पाउछ या पाउँदैन भन्ने अन्योल छ ।

सहपाठी साथीहरु कक्षा ७ मा पुगिसकेको भए पनि उनी कक्षा ४ मै भर्ना हुन तयार छन् । उनी भन्छन् ‘हामी जस्ता असहाय बालबालिकालाई सहयोग गर्ने अफिस हुन्छ , भन्ने सुनेको छु तर कहाँ हुन्छ नेपालमा कि भारतमा ?।’ यसरी सानै उमेरमा बाबुआमा दुबै गुमाएका बालकको बाँकी भविष्यको चिन्ता र चासो गर्ने अभिभावक कोही नभएकाले उनको भविष्यबारे सहयोगि निकायहरुको ध्यान जान जरुरी छ ।  

सेभ द चिल्ड्रेन रोल्पाका कार्यक्रम संयोजक इन्द्र बडुवालका अनुसा ईटाभट्टाबाट फर्काइएका बालबालिकालाई विद्यालय पठाउनु मुख्य कुरा भएको हुँदा उनलाई विद्यालय पठाउनका लागि पहल भइरहेको छ । उनका अभिभावक (फुपाजु) लाई आयआर्जनका क्षेत्रमा थप सहयोग गर्नका लागि उनीहरुको अवस्थाका बारेमा सोधी खोजी कार्य जारी रहेको छ ।’ सेभ द चिल्ड्रेन मार्फत यसरी उद्धार गरिएका बालबालिकाका अभिभावकलाई बढीमा ३५ हजार सम्म सहयोग गर्ने प्रावधान रहेको बडुवालले जानकारी दिए ।

नयाँ