लक्ष्मी पूजाको साँझ कञ्चनपुर शोकमय: इजरायलमा मारिएका विपिन जोशीको शव दुई वर्षपछि घर पुग्यो
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
861
Shares
महेन्द्रनगर। सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरहँदा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ। दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायल गएका विपिन जोशीको हमासको नियन्त्रणसँगै हत्या भएपछि उनको शव बाकसमा दुई वर्षपछि तिहारकै दिन घर पुग्दा परिवारसँगै सिङ्गो टोल शोकमय बनेको छ ।
विपिनकी आमा पद्मा र बहिनी पुष्पा उनको सकुशल रिहाइका लागि इजरायल, अमेरिकासम्म पुगेका थिए, तर सबैतिरबाट भएको प्रयास सार्थक हुन सकेन। केही दिनअघि मात्रै हमासले विपिन मारिएको विषय सार्वजनिक गरे पनि सोमबार बिहानसम्म आमा पद्मालाई यसको जानकारी दिइएको थिएन। बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखलेकी थिइन्।
परिवारका सदस्य किशोर जोशीले भने, “बहिनी पुष्पा यसपाली भाइटीकामा दाजुसित भेट हुनेछ भन्ने आशामा थिइन्, तर लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ।” दुई वर्षदेखि विपिन आउने प्रतिक्षामा रहेको जोशी परिवार अहिले सम्हालिन सकेका छैनन्।
सोमबार दिउँसो काठमाडौँ पुर्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट बेलुकी अबेर धनगढी पुर्याइएको थियो। उनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका पदाधिकारी विपिनको घरसम्म पुगेका थिए। विपिनको अन्तिम दाहसंस्कार आज बिहान महेन्द्रनगरस्थित महाकाली नदीमा गरिने परिवारले जनाएको छ।
इजरायलको 'द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन' को परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ।
सुदूरपश्चिम विश्वविद्यालयको 'लर्न एण्ड अर्न' कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए। उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो।
बहिनी पुष्पाको दाइलाई भाइटीका लगाउने सपना दुई वर्षपछि तिहारकै दिन दाइको शव घरमा पुगेपछि अधुरै रह्यो। परिवारका सदस्य किशोर जोशीले भने, “भाइ फर्किने ठूलो आशा थियो, तर सबै सपनामाथि बज्रपात भएको छ। बोल्ने र भन्ने शब्द नै रहेन।”