arrow

घट्याे प्लाष्टिकका फूल मालाको बिक्री-वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
plastic-ful-mala.jpg

पोखरा । पोखरा महानगरपालिकामा प्लाष्टिकका फूल-गुच्छा बिक्री वितरण कम हुँदै गएको छ । महानगरले चार वर्षअघिदेखि प्लाष्टिकका फूल बिक्री वितरणमा रोक लगाएकामा यसको कार्यान्वयन प्रभावकारी देखिएको हो । 

महानगरको उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन समितिले बजारका विभिन्न पसलमा गरेको अनुगमनका क्रममा केही पसलमा थोरै मात्रामा प्लाष्टिकका माला फेला परे पनि अधिकांशमा भेटिएको थिएन ।

महानगरका उपप्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा zहरका विभिन्न १० वटा पसलमा अनुगमन गरिएको थियो । प्लाष्टिकका माला फेला परेका पसलका व्यवसायीले समेत पुरानो खरिद रहेको र त्यो फूलमाला नबेच्ने भन्दै थन्क्याएका थिए ।

प्लाष्टिकका फूल बिक्री वितरणमा रोक लगाएको महानगरले तिहारलाई लक्षित गर्दै स्थानीय फूलको खरिद-बिक्री व्यवस्थापन स्थानीयस्तरमै मिलाएको छ । 

महानगरले किसान बजारमार्फत स्थानीय फूल बिक्रीको व्यवस्था गर्दै बिक्रीका लागि २५ ठाउँ तोकेको छ । 

उपप्रमुख गुरुङले प्लाष्टिकका फूल वितरण नगर्ने र स्थानीय फूलको प्रवर्द्धनको निर्णय कार्यान्वयन राम्रो भएको बताए । उनले विगतका वर्षभन्दा यस वर्ष तिहारको समयमा कम प्लाष्टिकका फूलमाला बिक्री नभएको बताए ।

महानगरपालिकाले प्लाष्टिकजन्य फूलमाला बिक्री-वितरण नगर्न, नगराउन र वातावरणमा नकारात्मक असर पार्ने निषेधित प्लाष्टिकजन्य फूलको प्रयोग नगरी स्थानीय फूल प्रयोग गर्न आग्रह गरेको छ । 

महानगरले नगरवासीकै हित, वातावरणीय स्वच्छता र वास्तविक चाडमा विकृति नहोस् भनेर अनुगमनलाई समेत जोड दिएको छ ।

उपप्रमुख गुरुङले भनिन्, “महानगरले प्लाष्टिकका फूल-गुच्छा बिक्री वितरणमा गरेको निर्णय राम्रोसँग लागू भएको छ ।

महानगरले अनुगमनसमेत प्रभावकारी गरेको छ र अटेर गर्नेलाई कानुनी दायरामा ल्याएको छ । यसबाट पोखरामा स्थानीय फूलको उत्पादन र प्रयोग बढेको छ ।”

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले अनुगमनका क्रममा झण्डै १०० वटा प्लाष्टिकका माला जफत गरिएको जानकारी दिए ।

उनका अनुसार विगतका वर्षहरूमा भन्दा यस वर्ष बजारमा कममात्रामा प्लाष्टिकका फूल र माला देखिएको र त्यसलाई बिक्री वितरण गर्नमा रोक लगाइएको छ । 

“आयातित फूलको विकल्पमा स्थानीय उत्पादनमा आत्मनिर्भर बन्ने अवस्था आएको छ । स्थानीय फूल उत्पादनका लागि महानगरकाले किसानलाई अनुदानसमेत दिने गरेको छ”, कडरियाले भने । 

महानगरले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लाष्टिकजन्य फूल-गुच्छाको बिक्री, वितरण वा भण्डारण निषेध गरेको र सोही ऐनको अधिकार प्रयोग गरी यस्ता प्लाष्टिकजन्य फूल-गुच्छाको बिक्रीवितरणमा रोक लगाउने भनी नेपाल राजपत्रमा प्रकाशित सूचना जारी गरेको थियो ।

सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय उत्पादन प्रवद्र्धन नीतिअनुसार प्लाष्टिकजन्य फूलमाला बिक्री-वितरणमा रोक लगाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ