arrow

तिहार पर्व समापन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
bhai-tika-tihar.jpg

पोखरा । हिन्दू धर्मावलम्वी नेपालीको दोस्रो ठूलो पर्व तिहार समापन भएको छ । बिहीबार भाइटीका भव्यतापूर्वक मनाउँदै यस वर्षको यमपञ्चक अर्थात तिहारको बिदाई गरिएको हो ।

तिहारको मुख्य दिन बिहीबार दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हाे ।

कात्तिक १ गते धन्तेरसबाट शुरु भएको यमपञ्चकसमेत भनिने तिहार २ गते काग तिहार, ३ गते कुकुर तिहार मनाइएको थियो । तिथि घटबढका कारण कात्तिक ४ गते भने खाली रहेको थियो । कात्तिक ५ गते गाईगोरु तिहार र ६ गते भाइतिहार र किजा पूजा गरी तिहार समापन गरिएको  हो । 

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिनमा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरे ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएका थिए तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच ओटा उल्लेख गरिएको छ । 

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई पृथ्वी लोकमा भेट्न आएका र यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइ पृथ्वी लोकमा भाईटीका लगाएको पौराणिक कथा छ ।

त्यो बेलामा यमपञ्चक परेको र यमपञ्चकभर यमराज यमुनाकोमा बसेर भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिएर दाजुसँग आशिर्वाद लिएको जनविश्वास रहिआएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ