arrow

भाइटीका महोत्सवमा सय भन्दा बढी पर्यटक सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
bhaiteeka-mahotsab-pokhara.jpg

पोखरा। होटल सङ्घ पोखरा नेपालद्वारा तिहारको अवसरमा लेकसाइडमा आयोजना गरेको १८औँ भाइटीका महोत्सवमा एक सयभन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् । 

महोत्सवमा १५ भन्दा बढी देशका पर्यटकले भाइटीका लगाएका सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

सङ्घले पोखरा र सिङ्गो नेपालको पर्यटन प्रवर्द्धन र संस्कृतिको संरक्षणका लागि विविध महोत्सव आयोजना गर्दै आएको उल्लेख गर्दै उनले यस पटक भाइटीका महोत्सवमा पर्यटकको उल्लेख्य सहभागिताका कारण विशेष बन्न पुगेको बताए । 

महोत्सवमा ‘रेन्वो चिल्ड्रेन होम’का छात्राले पर्यटकलाई टीका लगाइदिएका थिए । सहभागी पर्यटकलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहार प्रदान गरिएको थियो ।

पर्यटकले सेलरोटीलगायत नेपाली परिकार खानुका साथै देउसो भैलो पनि खेलेका थिए । सप्तरङ्गी टीका लगाएका पर्यटकले नौलो अनुभव लिन पाएको भन्दै दङ्ग थिए ।

अष्ट्रेलियाबाट आएकी पर्यटक एनीले आफू धेरै पटक नेपाल आएको र यस पटक नेपाल आएर टीका लगाउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिइन् । 

नेपाल सांस्कृतिक रुपमा धनी रहेको र नेपालीको अतिथि सत्कारबाट आफू प्रभावित भएको उनको भनाइ थियो । 

संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए । 

पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्रसमेत प्रभावित हुन पुगेको उल्लेख गर्दै महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ