arrow

दुधकुण्ड पदमार्गमा पर्यटक हराउने क्रम बढ्यो

सूचना अभाव र कमजोर नेटवर्क प्रमुख चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
dudhkunda-solu.jpg

सोलुखुम्बु। सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दुधकुण्ड पुग्ने पदमार्गमा साङ्केतिक बोर्ड र स्पष्ट दिशानिर्देशको अभावका कारण पर्यटकहरू हराउने घटना सामान्य बन्दै गएको छ। हालै ओखलढुङ्गाका डेनिस मगरसहितको एक टोली कामोडाँडा क्षेत्रमा करिब १० घण्टा बेपत्ता भएपछि यो समस्या सतहमा आएको हो।

डेनिस्स मगरले बाटो हराएको अनुभव सुनाउँदै भने, "पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरोमात्र थियो। हामीले हेर्ने आकाश पनि हरायो।" उक्त टोली दोबाटोमा पुगेपछि गलत दिशातर्फ हिँडेका थिए र मोबाइल सिग्नलसमेत नचल्दा बेपत्ता भए। पछि स्थानीय पर्यटन व्यवसायी र युवाहरूको सहयोगमा उनीहरूको उद्धार भएको थियो।

दुधकुण्ड पुग्ने मुख्य पदमार्गमा पर्ने तीन हजार ८६० मिटर उचाइमा अवस्थित कामोडाँडा यस्ता घटनाको केन्द्रबिन्दु बनेको छ। स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पाका अनुसार, पदमार्गमा स्पष्ट देखिने कुनै सङ्केत नहुँदा स्वदेशी तथा विदेशी पर्यटकहरू लुक्ला जाने बाटोतर्फ मोडिने गर्छन् र घण्टौँसम्म जङ्गल तथा भिरालो भूभागमा भौतारिन्छन्।

हिमालको फेदमा पर्ने दुधकुण्ड क्षेत्रमा टेलिफोन सञ्जाल अत्यन्त कमजोर छ। स्थानीय मिङ्मार शेर्पा भन्छन्, "नेटवर्क नै नचल्ने ठाउँ छ। कसैले हरायो भने तुरुन्त खोजी सुरु गर्न सकिँदैन, उद्धारका लागि मानिस पैदलै हिँड्नुपर्छ।" भौगोलिक कठिनाइ र सञ्चार सम्पर्क कम्जोर हुँदा उद्धार कार्यमा निकै कठिनाइ हुने गरेको स्थानीय जानकारहरू बताउँछन्।

समुद्री सतहबाट ४ हजार ७०० मिटर उचाइमा नुम्बुर हिमालको फेदमा अवस्थित दुधकुण्ड, दूधजस्तो सेतो पानीका कारण प्रसिद्ध छ। प्रत्येक वर्ष जनैपूर्णिमाका समयमा हजारौँ भक्तजन यहाँ पुग्छन्। नेपाल पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङका अनुसार दुधकुण्ड धार्मिकमात्र होइन, अन्तरराष्ट्रियस्तरको ट्रेकिङ र अध्यात्मिक केन्द्र बन्न सक्ने सम्भावना बोकेको गन्तव्य हो, तर सम्बन्धित निकायले यसलाई प्राथमिकता दिएको छैन।

नुम्बुर हिमालमा हालै सफलतापूर्वक आरोहण भएको घटनाले यस क्षेत्रलाई अन्तरराष्ट्रिय ट्रेकिङ गन्तव्यका रूपमा चिनाउने नयाँ ढोका खोलेको नेपाल पर्यटन बोर्डले बताएको छ। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले दुधकुण्ड सर्किट ट्रेकलाई प्रवर्द्धन गर्न सङ्घ, प्रदेश र स्थानीय सरकार एउटै दृष्टिकोणमा उभिनुपर्नेमा जोड दिए।

सोलुदुधकुण्ड नगरपालिकाले 'दुधकुण्ड पर्यटन प्रवर्द्धन कार्यक्रम' अन्तर्गत सङ्केत बोर्ड र पर्यटन सूचना केन्द्र स्थापना गर्ने योजना अघि बढाए पनि कार्यान्वयनमा ढिलाइ हुँदा समस्या यथावत् छ। सुरक्षित पदमार्ग, स्थायी सङ्केत बोर्ड, आपत्कालीन उद्धार केन्द्र र नियमित गाइड तालिम यस क्षेत्रको विकासका लागि अपरिहार्य रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ