arrow

छठ पर्वको 'खरना' विधि: बर्तालु आज निर्जल उपवासमा, भोलि सूर्यलाई पहिलो अर्घ्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
chhath-2021.jpg

काठमाडौँ। श्रद्धा र निष्ठाको महापर्व छठको दोस्रो दिन आज (कात्तिक शुक्ल पञ्चमी) बर्तालुहरू पानी पनि नखाई (निर्जल) उपवास मा बसेका छन्। कार्तिक शुक्ल चतुर्थीका दिन 'नहाय–खाय' (स्नान गरी चोखो खाने) विधिबाट पर्व सुरु गरेका बर्तालुहरूले आज बेलुकी 'खरना' विधि पूरा गर्नेछन्।

'खरना' अन्तर्गत बर्तालुहरूले दिनभरिको निर्जल उपवासपछि बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक प्रसाद ग्रहण गर्ने परम्परा छ।

नदी, छठी माता र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने चार दिने छठ पर्व शनिबारदेखि सुरु भएको हो। छठ पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठी (भोलि सोमबार) बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। यसका लागि पक्वान्न, फलफूल, उखु र नरिवललाई बाँसको टोकरीमा सजाएर साँझपख बत्ती बालेर नदी वा तलाउका किनारमा पुगिन्छ।

त्यसैगरी, सप्तमीका दिन बिहान (कात्तिक ११ गते मङ्गलबार) उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अर्घ्य दिइन्छ, जसलाई 'भिन्सरघाट' भनिन्छ। छठ बर्तालुहरू षष्ठीको रातभर नदी किनारमै जाग्राम बस्ने चलन छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने शास्त्रमा उल्लेख छ।

विशेषगरी तराईमा मनाइने यो पर्व वि.सं. २०४६ पछि काठमाडौँलगायत पहाडी जिल्लामा पनि मनाउन थालिएको हो। राजधानीमा बाग्मती र विष्णुमती नदी किनारसँगै नागपोखरी र गहनापोखरीमा पनि छठ मनाउने चलन छ।

गुह्येश्वरी छठ पूजा समितिले गुह्येश्वरीबाट गौरीघाटको बाग्मती किनारमा छठ घाट निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ। कमलपोखरीमा पनि तयारी भइरहेको छ। दुवै स्थानमा कात्तिक १० गते बेलुकी राष्ट्रपति रामचन्द्र पौडेलले विशेष पूजा एवं छठ पर्व अवलोकन गर्ने कार्यक्रम रहेको छ। यस वर्ष कात्तिक १० गते सोमबार बेलुकी अस्ताउँदो र कात्तिक ११ गते मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने कार्यक्रम रहेको समितिले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ