arrow

व्यवस्था जोगाउन तरुण दल आन्दोलनमा जान्छः विद्वान गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
bidwan-gurun-82-7-10.jpg

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । सोमबार नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसर पारेर भएको कार्यक्रममा तरुण दलले सो घोषणा गरेको हो । 

तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकमा व्यवस्था जोगाउन र आफूहरुको अस्तित्व रक्षाका लागि पनि आफूहरुले अब चुप लागेर बस्ने अवस्था नभएको बताए ।

उनले दुर्गा प्रसाईं, सुदन गुरुङहरुले आफूहरुको अस्तित्वमाथि नै धावा बोलिरहेको जिकिर गर्दै अब सडक संघर्षलाई अघि बढाउनका लागि तयार अवस्थामा रहन पनि तरुण दलका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

अध्यक्ष गुरुङले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई झोलेको रुपमा चित्रण गर्ने काम भईरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे  ।
 
उनले भने, ‘आज एउटा सरकार बनेको छ । पुराना दलको सरकार गएपछि मुलुकमा के केही परिवर्तन भएको छ ? आज एउटा कुनै दुर्गा प्रसाईले छठपछि आन्दोलनको घोषणा गरेको छ । एउटा कुनै अभियन्ता गुरुङले आगामी १६ गतेबाट आन्दोलनको घोषणा गरेको छ । केही जेन-जी पुस्ताहरुले पनि फेरि नेपाली कांग्रसका कार्यकर्ताहरुलाई झोलेको रुपमा हाम्रा परिवारहरुलाई विभिन्न सामाजिक सञ्जालमा हालेर हामीलाई ट्रोल बनाउने काम भइरहेको छ । यसैले म तरुण दलका साथीहरुलाई म के आग्रह गर्न चाहन्छु भने हामी चुप लागेर बसेर मात्रै मुलुकमा शान्ति हुँदो रहेनछ ।'

उनले अगाडि भने, 'यदि यो मुलुकको व्यवस्था जोगाउने हो भने, यदि तपाई हाम्रो अस्तित्व जोगाउने हो भने अब यिनीहरुको विरुद्ध सडकमा भिड्ने हो । यो भन्दा अब अर्को विकल्प नै छैन । अब आउने दिनमा २३ गतेको घटनालाई हामीले समर्थन गरेका थियौं । २४ गतेको घटना जुन घटनाको हामीले पुनर्विचार गर्न सकेनौँ । जसकारण हामीले यति ठूलो क्षति व्यहोर्न गयौँ । अब आउने दिनमा कुनै पनि आन्दोलनहरु, कुनै पनि वादीहरुले गर्ने आन्दोलनहरुमा अव नेपाल तरुण दल सजग रहनेछ । र तयारी अवस्थामा रहन पनि हामी साथीहरुलाई आग्रह गर्दछौँ ।’

अध्यक्ष गुरुङले भदौ २४ गते मुलुकमा भएको विध्वंश आफूहरुले रोक्न नसकेकोमा क्षमा माग्दै आगामी दिनमा त्यस्तो खालको अवस्था आउन नदिनका लागि सजग हुने समेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ