arrow

‘प्रचण्ड सरकार नैतिक रुपमा ढलिसक्यो’

संसद बैठक एकै पटक १५ दिनपछि राख्नु शंकास्पद

logo
व्यूरो,
प्रकाशित २०७३ माघ २३ आइतबार
dahal-PM-baneko-news.jpg.jpeg

काठमाडौं । निर्वाचनको विषयलाई लिएर प्रमुख विपक्षी एमाले सत्ताधारी माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहालसँग दिक्काएकाे छ । ओलीले राजधानी बाहिर दिएको अभिव्यक्ति र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दिएको संकेतले दाहाल सरकारको आयु छोट्टिएको अड्कल पनि काट्न थालिएको छ  ।

काँग्रेसका अधिकांश नेताले नयाँ संरचनामा सरकार निर्वाचन गर्न नसक्ने भन्दै पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्न भनिरहेका छन् । एमालेले वर्तमान सरकारको हातबाट निर्वाचन उम्किएको भन्दै सरकार नैतिक रुपमा ढलिसकेको ठोकुवा गरिसकेको छ ।

प्रधानमन्त्री दाहालले भने आफ्नो पार्टी हारे पनि निर्वाचन गराएरै छाड्ने बताइरहेका छन् । एमाले मेची–महाकाली जागरणमा निस्किएको छ । एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच सामीप्यता बढेको दुवै पार्टीबाट संकेत आएपनि दोस्रो तहका नेताहरुलाई जानकारी दिइएको छैन ।

एमाले उपाध्यक्ष भीम रावलले हाम्राकुरासँग भने, ‘शीर्ष तहको आन्तरिक कुराकानीबारे थाहा छैन । हामीले चैं वर्तमान सरकार चुनाव गर्न नसक्ने भएकाले नैतिक रुपमा ढलिसकेको भनेका चैं हौँ । कसैसँग मिलेर सरकार परिवर्तन गर्ने कुरामा छलफल भएको छैन । एमालेलाई सरकार परिवर्तनमा रुचि छैन ।’

एमालकै प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकार परिवर्तन हुने कुरा आफुहरु सबै बाहिरै भएकाले थाहा नभएको बताए । उनले भने, ‘यदी सरकार फेर्ने कुरा हो भने । निर्वाचन गर्ने गरी तीन वटै पार्टीबीच सहमति हुन आवश्यक छ । सरकारको नेतृत्व कसले लिने भन्ने कुरा महत्वपूर्ण होइन ।’ निर्वाचन गर्ने सन्दर्भमा तीन ठूला पार्टी सहमत भए कोही पार्टी सरकारबाहिर रहँदैमा फरक पर्दैन ।

ओलीले शनिबार मात्रै वर्तमान सरकार कुनै पनि बेला खतरामा पर्न सक्ने बताएका थिए । यस्तै, आइतबार विहान मात्रै ओली र काँग्रेस सभापति देउवाबीच टेलिफोन कुरा भएको समेत चर्चा चलेको थियो । यद्यपि, देउवाका सहयोगिले ओलीसँग टेलिफोन कुराकानी नभएको बताएका छन् । राजधानीका एमाले कार्यकर्ता सरकार परिवर्तन हुने पक्का भएको र पुरानै संरचनामा चुनाव गर्ने वातावरण बनाउँदै लगेको बताइरहेका छन् ।

संसद बैठक एकै पटक १५ दिनपछि राख्नु शंकास्पद
सत्ताधारी काँग्रेसका एक नेताले हाम्राकुरासँग भने, ‘देउवा र प्रचण्डबीचको हाइसेक्रेसीले सरकार अहिले सम्म टिक्यो । अब धरातलीय कुरा अर्कै आयो । स्थानीय तहको निर्वाचन गर्न वर्तमान सरकार तयार छैन । ता कि प्रधानमन्त्री स्वयंले आफुहरुको चुनावी मैदान सुरक्षित नरहेको स्वीकार्दै हार्ने हो भनिसक्नु भएको छ ।’ त्यसैले यो सरकारबाट स्थानीय तहको निर्वाचन असम्भव भयो ।

उनले थपे, ‘संसद बैठक एकै पटक फागुन १० गते (१५ दिनपछि) राख्नु, मधेस केन्द्रित दलहरुबीचको सम्वाद रोकिनु, प्रतिपक्षीले सरकार नैतिक रुपले ढलिसक्यो भन्नु शंकास्पद छ ।’ दाहाल सरकार गठन हुँदा तीनै काँग्रेस नेताले हाम्राकुरासँग भनेका थिए, ‘प्रचण्ड र देउवाबीच हाइसेक्रेसीमा सम्झौता भएको छ । ओलीले थाहा पाउँदैनन् ।’ हाइसेक्रेसी थाहा नपाएपछि ओलीले माओवादीको कमजोरपक्ष केलाएर निर्वाचनको रटानलाई छोडेनन् । ता कि माओवादीको चुनावी धरातल खस्किएकै बेला एमालेले सरकार भन्दा चुनावमै जोड बल गरेको बताइँदैछ ।

संसदलाई सरकारले १५ दिनसम्म विजनेस दिन नसक्नु असफलता  
उनले सरकारले सदनलाई १५ दिनसम्म विजनेस दिन नसक्नु भनेको सरकारको असफलता नै हो, भने । बजेट लगायत विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल गर्नु पर्ने ठाउँमा सदन १५ दिन नचल्नु सरकारको असफलता नै हो । सरकार परिवर्तन गर्ने कुरा कसरी आयो भन्नु भन्दा पनि शंका गर्ने ठाउँ थुप्रै छ । गतिविधि त्यस्तै देखिएको छ ।

दाउपेच ठूल–ठूला छन्, हामी सर्तक हुन सकेनौं भने खतरा छ !
प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख प्रशासनिक सल्लाहकार नारायणप्रसाद दाहालले अहिले ठूल–ठूला दाउपेच रहेकाले खतरा रहेको बताए । उनले भने, ‘दाउपेच ठूल–ठूला छन्, हामी सर्तक हुन सकेनौं भने खतरा छ ! समीकरण बनाउने कुरा आज होइनन्  २ महिना अघिबाटै चलेका हुन् । त्यस्ता कुरा हुँदै गर्छन् ।’ जहाँसम्म सरकारले निर्वाचन गर्न सक्दैन भन्ने कुरा होइन । कुनै विशिष्ठ कारण बाहेक देश निर्वाचनमा गइसक्यो ।

संसदको सेसन नै अन्त्य भएको होइन नि !
संसद बैठक एकै पटक फागुन १० गते राखेको भन्नेमा सत्ताधारी दलहरुले नै शंका गरिरहेका बेला दाहालले भने, ‘संसदको सेसन नै अन्त्य भएको होइन होला । १५ दिन राख्नु भनेको निर्वाचनका लागि गर्नु पर्ने बाँकी काम गर्ने भनेको हो ।’ अब बाँकी विधेयकहरु अध्यादेशबाट ल्याउन सकिन्छ । संसदीय प्रक्रियामा जाँदा समय लाग्ने भएकाले अध्यादेशबाट विधेयक ल्याउन सकिन्छ । बजेट के गर्नु हुन्छ ? जवाफमा उनले भने, ‘बजेट पनि अध्यादेशबाटै आउँछ ।’

जेठमा नयाँ संरचनाको स्थानीय तहकै निर्वाचन हुन्छ
दाहालले भनेका छन्, ‘निर्वाचन आयोगले नै स्थानीय तहको निर्वाचन गर्ने भनिसकेपछि । पुरानो संरचनाको कुरा कहाँबाट आयो ? पुरानो संरचना भन्ने कतिपयले त संघीयता नै खारेज गरौँ भनिरहेका छन् । जेठमा स्थानीय तहकै निर्वाचन हुन्छ । पक्का निर्वाचन हुने गरी देश निर्वाचनमा गइसक्यो ।’ मधेसी मोर्चा तयार भयो त ? जवाफमा उनले भने, ‘उहाँहरु मानिरहनु भएको छैन । केही केही कुरा मान्न तयार हुनु भएको छ । सम्वाद जारी छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ