arrow

रामलीला महायज्ञको तयारी अन्तिम चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
Baitadi_District.png

बैतडी। संस्कृति संरक्षणको उद्देश्यका साथ बैतडीको दोगडाकेदारमा यही कात्तिक १७ गतेदेखि सञ्चालन हुने रामलीला महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। दोगडाकेदार सांस्कृतिक समाजद्वारा आयोजित उक्त रामलीला श्रीकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ।

सांस्कृतिक समाजका सदस्य एवं श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दानसिंह कार्कीले रामलीलाको तयारीलाई तीव्रता दिइएको र महायज्ञमा अभिनय गर्ने कलाकारका लागि तालिमसहित अन्य व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार, धर्म संस्कृतिको जगेर्ना गर्न, युवापिँढीलाई अनुशासनको ज्ञान दिन तथा मर्यादा पुरुषोत्तम रामचन्द्र भगवान्को जीवनीलाई नयाँ पिँढीमा बाँड्न यो रामलीला आयोजना गरिएको हो। यो नाटक सत्यता र सनातन हिन्दू धर्मको पाठ सिकाउनका लागि पनि उपयोगी हुने विश्वास लिइएको छ। कात्तिक २७ गतेसम्म सञ्चालन हुने रामलीलाबाट सङ्कलन भएको चन्दा सामाजिक र सांस्कृतिक क्षेत्रमा खर्च गरिनेछ।

रामलीलालाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि राजबहादुर कार्कीको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको सांस्कृतिक समाजका अध्यक्ष मोहनसिंह कार्कीले जानकारी दिए। उनले रामलीलालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न विभिन्न समितिहरू बनाएर तयारी गरिएको र कलाकारको तालिम पनि सञ्चालन भइरहेको बताए।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले उक्त महायज्ञबाट संस्कृति संस्कारको ग्रहणका साथै असामाजिक गतिविधि अन्त्य गर्दै रामजस्तै असल चरित्र निर्माणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे। सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी समुदाय र स्थानीयवासीलाई यस अवसरमा सहभागी भई धर्म र संस्कृतिको संरक्षणमा हातेमालो गर्न आयोजक संस्थाका सदस्य तथा श्रीकोट बहुमुखी क्याम्पसका स्ववियु सभापति नवीन कपाडीले अनुरोध गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ