अस्पतालकाे बेडबाट बच्चा चाेर्ने नक्कली आमा ठहरिइन् लालसादेवी
प्रकाशित २०७३ माघ २३ आइतबार
1k
Shares
पर्सा । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी बच्चा चोरी गरेको अभियोगमा पक्राउ परेकी पर्साको बेलवा–९ निवासी लालसादेवी साहलाई सार्वजनिक गरेको हो ।
गएको शुक्रबार वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति वार्डको बेड नं ६५ बाट हराएको बच्चा लालसादेवीले चोरी ल्याएको गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको मध्यक्षेत्रीय प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले जानकारी दिए ।
विवाह भएको पाँच वर्ष बित्दासमेत आफ्नो सन्तान नभएका कारण अस्पतालबाट लालसादेवीले वीरगन्ज उपमहानगरपालिका–२ छपकैया निवासी मुकेश पासवानकी श्रीमती आशादेवी पासवानले जन्माएको बच्चा चोरी गरेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकी लालसादेवीलाई कानुनबमोजिम कारबाही हुने बताइएको छ । घटनाको ४८ घण्टा नबित्दै बच्चाको सकुशल उद्धार र दोषीलाई कानुनको दायरामा ल्याउन सफल प्रहरीले जनाएका छ ।
आइतबार दिउँसो करिब २ बजेको समयमा प्रहरीले उद्धार गरेको नवजात शिशुलाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उद्धार गरिएको बच्चाको स्वास्थ्यमा सामान्य समस्या देखिएकाले उनलाई उपचारका लागि उपक्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालमा मेडिकल सुपरिन्टेन्डेट चित्तरञ्जन साहले सञ्चारकर्मीलाई जानकारी दिए । रासस