arrow

बीपी र मध्यपहाडी राजमार्गमा सचेत रहन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
bp-highway-pahiro.jpg

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कात्तिक १५ गतेसम्म जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनाको आधारमा प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन जारी गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेकाले नागरिक, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय सबैलाई सचेत रहन आग्रह गरिएको छ । 

सूचनामा वर्षा र बाढीका कारण हुन सक्ने मानवीय र भौतिक क्षति रोकथामका लागि सात बुँदे सावधानीका निर्देश दिइएको छ । 

सूचना अनुसार भारी वर्षाको अवस्थामा सवारी साधन र यात्रुलाई हुने जोखिम कम गर्न सुरक्षाकर्मीले आवश्यकताअनुसार सडकमा सवारी साधन रोक्न सक्ने व्यवस्था गरिएको छ ।

विशेषगरी बीपी राजमार्ग र मध्यपहाडी राजमार्गमा वर्षा भइरहेको बेला र रातको समयमा सवारी सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

त्यसैगरी, अत्यावश्यक नपरीकन यात्रा नगर्न, विशेष गरी टाढा र रातको समयमा बाहिर नजाने सल्लाह दिइएको छ । बाढी-पहिरो जोखिम भएका बस्ती र नदी किनारका क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ ।

स्थानीय तहलाई स्वीकृत मनसुन तथा विपद् व्यवस्थापन कार्ययोजना अनुरूप पूर्वतयारी र प्रतिकार्य सुनिश्चित गर्न निर्देशन गरिएको छ ।

डुबान हुन सक्ने स्थान र बस्तीहरूको पहिचान गरी सुरक्षित (अस्थायी) स्थानतर्फ सर्ने तयारी गर्न पनि प्रशासनले आग्रह गरेको छ । जिल्लास्थित सबै सुरक्षा निकाय, स्थानीय तह र सरोकारवाला निकायहरूलाई स्वीकृत कार्ययोजना अनुसार तयारी अवस्थामा रहन भनिएको छ ।

यस्तै, बीपी, मदन भण्डारी र मध्यपहाडी राजमार्गसँग सम्बन्धित निकायहरू-डिभिजन सडक कार्यालय खाल्टे, सुनकोशी, मध्यपहाडी सडक आयोजना कार्यालय रामेछाप र यान्त्रिक डिभिजन कार्यालयलाई तुरुन्त परिचालन हुन सक्नेगरी आवश्यक मेशिनरी र साधन तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । जोखिमयुक्त स्थानहरूमा स्रोतसाधन र जनशक्ति परिचालन गर्न पनि भनिएको छ ।

साथै, प्रशासनले किसानलाई समेत सतर्क रहन आग्रह गर्दै भनेको छ, ‘माथि उल्लेख भएको अवधिमा धान तथा अन्य वाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउने ।’

जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई विपद् जोखिम न्यूनीकरणका लागि सजग रहन, सूचनामा उल्लिखित सावधानी अपनाउन र आपत्कालीन अवस्थामा नजिकको सुरक्षा निकाय वा स्थानीय तहसँग तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ