arrow

अविरल वर्षा र पहिरोले जोमसोम-कोरला सडकखण्ड ठप्प, मुस्ताङमा यात्रुहरू अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
beni-jomsom.jpg
तस्बिर फाइल

मुस्ताङ। अविरल वर्षासँगै आएको पहिरोले राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधा दर्जनभन्दा बढी स्थानमा क्षति पुर्‍याउँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध भएको जनाएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार जोमसोम–कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पाण्डा खोला नजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको छ। निरन्तरको वर्षाले गर्दा जोमसोमदेखि केहीमाथि करिब २५ मिटर कालोपत्रे सडक भासिएर सडक जोखिम बढेको उनले बताए। बिहीबार साँझ पाण्डा खोलाको बाढीले पनि सडक संरचनामा क्षति पुर्‍याएको छ। यद्यपि, सुरक्षा निकायले हाललाई कामचलाउ रूपमा भए पनि यातायात सञ्चालनमा ल्याएको उनको भनाइ छ।

जोमसोम–कागबेनी सडकखण्डको चार स्थानमा सडक माथिबाट पहिरो खस्नेक्रम जारी रहेकाले मुक्तिनाथ दर्शनार्थीलाई जोमसोममै रोकिएको छ। प्रमुख जिल्ला अधिकारी भुसालले माथि रोकिएका सवारी तथा यात्रुलाई एकतर्फी सडक खुलाएर भए पनि तल झार्ने प्रयास भइरहेको र जोमसोमबाट मुक्तिनाथ र कोरलातर्फ जाने सवारीसाधनलाई माथि जान रोक लगाइएको बताएका छन्। वर्षा रोकिएमा सडकको अवस्था हेरेर मात्रै सवारीलाई माथि जान दिइने उनले स्पष्ट पारे।

यसैगरी, जोमसोम–कागबेनी सडकमा पहिरो खस्दा एक सार्वजनिक भाडाको ट्याक्सीमा क्षति पुगेको छ भने पहिरो गएको स्थानमा एक भारतीय कार फसेर बसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। फसेको भारतीय गाडीलाई निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ।

बाढीपहिरोले कागबेनी–छुसाङ सडकखण्डको आधा दर्जन स्थानको सडक अवरुद्ध भएको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष विनोद गुरुङका अनुसार ताङ्वे–छुसाङबीचमा पर्ने खोलाको बाढीले कोरला सडकमा क्षति पुर्‍याएको र कागबेनी–कोरला सडक बिहीबार साँझदेखि पूर्ण रुपमा अवरुद्ध छ।

वर्षाका कारण सडक अवरुद्ध भएर अलपत्र परेका १७ जना यात्रुहरूलाई बारागुङ–३ स्थित ग्रीन ताङ्वे घरमा लगेर राखिएको वडाध्यक्ष गुरुङले बताए। वर्षा रोकिएपछि उनीहरूलाई गाउँले बस्ती नजिक ल्याउने योजना रहेको उनको भनाइ छ।

अवरुद्ध जोमसोम–कागबेनी सडकको आज बिहान प्रमुख जिल्ला अधिकारी भुसालसहित सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी र प्रहरी नायब उपरीक्षक लामालगायतका सुरक्षाकर्मीले अवलोकन गरेका छन्। जोमसोम–कागबेनी भासिएको सडक मर्मत गरी सञ्चालनमा ल्याउन दुईदेखि तीन दिन लाग्नसक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ