arrow

छपन्न हजार छ सय ७३ काठमाडौँ महानगरबासी स्वास्थ्य बीमामा आवद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
health-insurance-bord-neapl.jpg

काठमाडौँ । छपन्न हजार छ सय ७३ जना काठमाडौँ महानगरबासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् ।

यसमा १३ हजार पाँच सय ७५ जना ज्येष्ठ नागरिक, एक हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित दुई जनासहित छन् ।

महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गर्दै यससम्बन्धी जानकारी दिएको हो ।

यस वर्ष एक लाख ९४ हजार एक सय ९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । त्यसमध्ये ८४ हजार सात सय चार जनाले बहिरङ्ग सेवा लिएका छन् ।

महानगरपालिकाको स्वास्थ्य विभागले गरेको वार्षिक समीक्षा अनुसार यस वर्ष ३० ओटा स्वास्थ्य संस्था दर्ता र नवीकरण गरिए भने एक सय २० ओटा स्वास्थ्य संस्थाको अनुगमन गरेको छ ।

एक हजार ८७ जनाको विपन्न नागरिक उपचार सिफारिस हुँदा वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत दुईसय १० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ ।

यस्तै, नसर्ने रोग स्क्रिनिङ् महाअभियानअन्तर्गत २६ हजार १९ जनाको जाँच गरियो । किशोरीको रक्तअल्पता स्क्रिनिङ् कार्यक्रममा दुई हजार तीन सय किशोरीको परीक्षण गरिएको बताइन्छ । एक हजार दुई सय २२ पिन्ट निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराइयो ।

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा अनुसार यस वर्ष वडा नं १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्सरे सेवा प्रारम्भ गरियो । महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएको छ ।

३१ ओटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवासमेत सञ्चालन गरिएको थियो । यी केन्द्रसँगै महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ ओटा सुरक्षित गर्भपतन सेवा केन्द्र, १ ओटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपङ्चर सेवा छन् ।

यसै वर्षदेखि ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकले सेवन गर्ने दीर्घ रोगका उपचारका लागि प्रयोग गरिने औषधिहरुको लगत संकलन थालनी गरिएको छ । २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइएको छ ।

पर्व र विभिन्न अवसर पारेर २५ ओटा स्वास्थ्य शिविर सञ्चालन गरेर करिब १५ हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गरिएको छ । डेङ्गी रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन समेत गरिएको छ ।

यस वर्ष खोप सेवा प्राप्त गर्नेहरुको संख्या १६ हजार एक सय ८८ जना छ । स्वयंसेविकामार्फत ५९ हजार छ सय २० जनाले सेवा प्रदान गरिएको तथ्यांक छ । १० वर्षदेखि १९ वर्षसम्म उमेर समूहका किशोर किशोरी पोषण कार्यक्रमका लक्षित वर्गको संख्या ७३ हजार आठ सय ९२ जना थियो ।

यस समूहका किशोरीलाई आइरन र फोलिक एसिड वितरण गरियो । एक वर्ष अवधिमा १३ हजार छ सय ६० जना शिशुको जन्म भएको तथ्यांक छ । 

शिशुको सुरक्षित जन्मका लागि गर्भवती आमालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सुत्केरी आमालाई भिटामिन ए र आइरन चक्की प्रदान गरियो । यस्तै उनीहरूलाई  उत्तर प्रसुति जाँच सेवा प्रदान गरियो ।

खोप अभियानअन्तर्गत २०७३ साल बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाका लागि ओरल पोलियो भ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको थियो ।

२०८१ जेठ १३ गतेदेखि १९ गतेसम्म चलेको कार्यक्रममा दुई लाख ३६ हजार एक सय ७२ जना बालबालिका अनुमान गरिएकोमा दुई लाख १४ हजार एक सय ६५ जना अर्थात् ९० दशमलव ६८ प्रतिशतलाई खोप दिइएको छ ।

पाँच वर्ष मुनिका बालबालिकाहरुमा हुने रोग नियन्त्रणका लागि ६६ हजार पाँच सय १९ जना लक्षित बालबालिका थिए । एमोक्सिसिलिनबाट एक सय १४ जनाको उपचार गरियो ।

एक हजार नौ सय ९१ जना बालबालिका पखालाका कारण उपचारका लागि भर्ना भएकोमा एक हजार नौ सय ५६ जनालाई जिङ्क र ओरल रिहाइड्रेसन थेरापीबाट उपचार गरिएको छ ।

प्रजनन उमेरका महिलाहरुका लागि गरिएको क्यान्सर परीक्षण शिविरमा तीन हजार १६ जनाको नाम दर्ता भएको थियो । त्यसमध्ये छ सय ७० जनाको मेमोग्राम गरियो ।

तीन सय ७० जनाको स्तन परीक्षण गरिएको छ । पाँच जनाको स्तनको वायोप्सी गरिएको थियो । त्यसमा एक जनामा क्यान्सर देखिएको विभागले जनाएको छ ।

सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने छ हजार एक सय ७५ जना छात्र र पाँच हजार चार सय ६२ जना छात्रा गरी ११ हजार छ सय ३७ जनाको आँखा परीक्षण गरिएको थियो ।

नसर्ने खालका रोगको कारण थाहा पाउन १९ हजार दुई सय ७७ जनामा धुम्रपान र मद्यपान सेवनको सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा सहभागीमध्ये आठ दशमलव चार प्रतिशतले नियमित सेवन गर्ने गरेको पाइएको छ । ७८ दशमलव छ प्रतिशतले कहिल्यै सेवन नगरेको बताए । 

यस्तै, २३ दशमलव एक प्रतिशले कहिलेकाहीँ मद्यपान सेवन गर्ने गरेको बताए । ६८ दशमलव पाँच प्रतिशतले कहिल्यै मद्यपान नगरेको बताए ।

यस आर्थिक वर्षका लागि महानगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि ९० करोड ५१ लाख ५७ हजार तीन सय रुपैंयाँ बजेट विनियोजन गरेको थियो ।

यसमा आन्तरिक स्रोतबाट ७८ करोड २१ लाख आठ हजार आठ सय रुपियाँ, नेपाल सरकारबाट प्राप्त नौ करोड ३८ लाख ६८ हजार पाँच सय रुपियाँ र प्रदेश सरकारबाट प्राप्त दुई करोड ९१ लाख ८० हजार रुपैंयाँ थियो ।

यसरी विनियोजित रकममध्ये आन्तरिक स्रोततर्फ ५५ दशमलव ६४ प्रतिशत वित्तीय प्रगति र ७६ प्रतिशत भौतिक प्रगति भएको छ ।

सरकारबाट प्राप्त रकमको बित्तीय प्रगति ९३ दशमलव २६ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ । प्रदेश सरकारबाट प्राप्त रकमको वित्तीय प्रगति ९६ दशमलव ५१ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ ।

कुल विनियोजित रकमको वित्तीय प्रगति हेर्दा ६५ दशमलव ८६ प्रतिशत प्रगति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ