arrow

यसकारण सम्भव छैन तत्काल नेपालमा भारतीय प्रभाव

भारत भने सम्बन्ध सुधार्ने प्रयासमा

logo
अन्तर्राष्ट्रिय ब्यूराे,
प्रकाशित २०७३ माघ २४ सोमबार
काठमाडौं । झट्ट सुन्दा अचम्म पनि लाग्न सक्छ नेपाल पछिल्लो समय भारतीय प्रभावबाट हटेर चीनसँग सम्बन्ध सुधार्न थलिसकेको छ । यो कुनै चियाँ गफ र नशाको तालमा भनिएको कुरा नभएर एशिया प्रशान्त क्षेत्रका विविध घटनाहरुको विश्लेषणत्मक समाचार प्रस्तुत गर्ने जापानी अनलाईन द डिप्लोम्याटले गरेको विश्लेषण हो । 
 
केपी ओली नेतृत्वको सरकारको बहिर्गमनसँगै बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई भारतीय योजना बमोजिम बनेको र भारतीय शासकहरुको डिजाईनमा बनाईएको भनेरसमेत यावत लान्छनाहरु लगाईने गरेको छ । हुन पनि यो तर्कमा चीनले देखाएको व्यवहारले समेत थप पुष्टि गरेको छ । 
 
अहिलेको सरकारसँग सन्तुष्ट नभएर नै चीनका राष्ट्रपति सि जिङपिङको पूर्व निर्धारित नेपाल भ्रमण समेत सरकार परिवर्तन पछि स्थगित भयो । तर कसरी अझै पनि नेपाल भारतको प्रभावबाट उम्किसकेको विश्लेषण गर्न सकिन्छ ?
 
गत वर्ष भारतले नेपालमाथि लगाएको नाकाबन्दीकै कारण नेपाल भारतको पञ्जाबाट उम्किसकेको विश्लेषण डिप्लोम्याट्सको छ । अनलाईनको ‘आफ्टर द ब्लकेजः चाईना पुस इनटु नेपाल’ शीर्षकमा प्रकाशित समाचार विश्लेषणमा बताईएको छ कि ‘२०१५ को सेप्टेम्बरदेखि २०१६ फेब्रुअरीसम्म भारतले नेपालमाथि लगाएको नाकाबन्दीका कारण नेपालका उच्च निजामती सेवाका व्यक्तिहरुले समेत भारतलाई अलिकति पनि जिम्मेवारी नभएको मुलुकको रुपमा चिन्न थालिसकेका छन् । यसले पनि पुष्टि गरेको छ कि भारतलाई नेपालको नाकाबन्दी धेरै महंगो सावित भईसकेको छ ।’ 
 
किन महंगो पर्यो भारतलाई नेपालमाथिको नाकाबन्दी ? 
नेपालमा अहिले शासकहरुलाई जति भारतीय डिजाईनको भनिएपनि नेपाली जनताहरुमा भने भर्खरका स्कूले बच्चादेखि ६ दशक विताईसकेकाहरुसम्ममा भारतप्रति आक्रोश भाव पैदा भएको छ । पहिलेदेखि नै नेपाली आम सञ्चार माध्यमहरुले दिएका विभिन्न समाचारहरुबाट मात्रै त सिर्जित भएको भारत विरोधि भावना अझ नाकाबन्दी पछि त झनै चुलिएर आएको छ । 
 
तर, भारतले नेपालमाथि नाकाबन्दी लगाएको यो पहिलो घटना भने होईन । यस अघि पनि पटकपटक नाकाबन्दी गरेको भारतको लागि यही नाकाबन्दी चाहिँ किन महंगो पर्न आयो त ? 
 
नेपालका विशिष्ठ कूटनीतिज्ञलाई उद्दृत गर्दै डिप्लोम्याट्स भन्छ ‘लामो समयदेखि दक्षिण एशियाली मुलुक र त्यसमा पनि नेपालमाथि आफ्नो प्रभाव बढाउन प्रयासरत चीनले भारतले लगाएको नाकाबन्दीमा सहयोग गरेर भारतको स्थान ओगटिसकेको छ । एउटा मुलुकको विकल्पमा अर्काे मुलुकले साथ दिएपछि पक्कै पनि नेपालीहरु भारतलाई छाडेर चीनलाई आफ्नो मान्न थालिसकेका छन् । जुन वातावरणलाई नाकाबन्दी पूर्वको जस्तै बनाउने सानो मिहिनेतबाट भारतलाई सम्भाव छैन । 
 
अवश्य पनि अहिले विशेषगरी ८ वर्षदेखि २० वर्षसम्मका उमेर समूहमा पर्ने किशोर÷किशोरीहरु अधिकांशको मानसिकामा भारत एक गैरजिम्मेवार र नेपाल माथि समस्या परेको बेलामा थप समस्या थप्ने मुलुक हो भन्ने छाप बसिसकेको छ । यो किशोर मस्तिस्कमा बसेको छाप मेट्नको लागि भारतले धेरै मिहिनेत गर्नु जरुरी रहेको छ । 
 
त्यस्तै, सामाजिक सञ्जालले पनि अहिले भारत विरोधि भावनालाई बढावा दिएको पाईन्छ । पहिले सीमित क्षेत्रहरुमा मात्रै रहनेगरेको आक्रोश यस पटकको नाकाबन्दीमा भने सामाजिक सञ्जालबाट मेचीदेखि महाकालीसम्म चर्चामा हुन्थ्यो जसले गर्दापनि धेरै मानिसहरुमा अमेट छाप बसिसकेको मान्न सकिन्छ । 
 
उता, चीन नेपाललाई समस्या परेको बेलामा कामलाग्ने मुलुक हो भन्ने छाप पनि यी किशोर मस्तिस्कमा भारतले नै लगाईदिएको हो । जुन समूहका मानिसहरु नै अबको मुलुक सञ्चालनको विभिन्न स्थानमा पुग्ने जनशक्ति हुन् । त्यसैले पनि यो समूहमा देखिएको भारत विरोधि धारणा हटाउन भारतलाई कठिन रहेको मान्न सकिन्छ । 
 
चीनको नेपाल प्रवेशको लागि जुरेको मुहुर्त 
उता, दक्षिण एशियाली मुलुकहरुमा आफ्नो प्रभाव पार्न लामो समयदेखि प्रयासरत चीनलाई भने नेपाल प्रवेश गर्ने शुभमुहुर्त जु¥यो भारतीय नाकाबन्दीको समयमा । नाकाबन्दीको समयमा आवश्यक सामान पठाउने प्रतिवद्धता मात्रै गरेन चीनले नेपालसँग पारवाहन सम्झौता गरेर भारतीय एकाधिकार तोड्ने काम पनि हतार हतार सम्पन्न ग¥यो ।  
 
त्यस्तै, भारतकै कारण चीनसँग सम्बन्ध सुधार्न बाध्य भएको पाकिस्तान त चीनको एक असल मित्रको रुपमा पहिलेदेखि नै सँगै छ । उसले यही पछिल्लो वर्षमा वंगलादेशसँग पनि सम्बन्ध सुधार गरेर दक्षिण एशियामा आफ्नो प्रभाव स्थापित भईसकेको समेत सावित गरेको छ । यसरी चीनले भने भारतीय पक्षले गरेको सानोसानो भुल सुधारलाई आफ्नो मौकाको रुपमा सदुपयोग गर्दै आएको छ । 
 
किन र कसरी नेपालमा आउँदैछ चीन ? 
चीनको लागि पछिल्लो समय सबैभन्दा महत्वपूर्ण छिमेकी मुलुक नेपाल बनेको छ । एउटा धेरै भूभाग जोडिएको छिमेकी मुलुक भारत चीनको प्रतिस्पर्धी र एक हिसावले विरोधी समेत रहेको छ । पूर्व राष्ट्रपति वाराक ओवामाको पालामा नै अमेरिकासँग भारतले गरेको सैन्य सम्झौता र अझ नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीलाई महान् नेताको रुपमा विश्लेषण गरी दिएको अभिव्यक्तिले चीन, भारत र अमेरिका प्रति सशंकित रहेको छ । त्यसैमाथि राष्ट्रपति ट्रम्पले एकचीन नीतिको विरुद्ध बेलाबेलामा दिनेगरेको अभिव्यक्ति पनि चीनको लागि टाउको दुखाईको विषय बनेको छ । 
 
यस्तो अवस्थामा यी मुलुकहरुले राजनीतिक अस्थिरताको समस्या झेल्दै आएको नेपाललाई प्रयोग गरेर ‘फ्रि तिब्बत’ अभियान चलाउन सक्ने तर्फ समेत चीन सचेत रहेकोले पनि उसले नेपालमाथि आफ्नो प्रभाव जमाउन चाहन्छ । अब कुरा आयो कसरी चीन नेपाल प्रवेश ग¥यो भन्ने सवाल । चीनले नाकाबन्दी पछि विस्तारै नेपालमा आफ्नो सहयोग र लगानी बढाउँदै गएको छ । सैन्य रुपमा पनि नेपालमाथि चिनियाँ प्रभाव परेको उक्त अनलाईनले दाबी गरेको छ । उसले सशस्त्र प्रहरीलाई तालिम दिएर चिनियाँ सीमामा खटाउने गरेको विषय समेत अनलाईनले समेटेको छ । 
 
अहिलेसम्म नेपालले भारत र अमेरिकासँग मात्रै गरेको सैन्य अभ्यास यो वर्ष चीनसँग पनि गर्दैछ । जुन पनि नेपालमा चीनको बढ्दो प्रभावको अर्काे नमुना हो । उक्त अनलाईनमा विशेषगरी नाकाबन्दीदेखि अहिलेसम्मको नेपालमाथि भारतले गरेको व्यवहारलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । त्यहाँ प्रस्तुत गरिएको तथ्यहरु धेरैजशो त सामान्य जनजीवनमा चर्चामा आईरहने विषय बनेका छन् भने केही विषयहरु भने नयाँ समेत रहेका छन् ।
 
डिप्लोम्याट्समा भनिएझै पक्कै पनि दक्षिण एशियाली मुलुकहरुमा पछिल्लो समय भारतको प्रभाव घट्दै गएको छ भने चीनको मित्रता र सानिध्यता बढ्दै गएको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ