न्यूनतम पारिश्रमिक नदिएको भन्दै निजी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
थप कडा आन्दोलन गर्ने चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
1.1k
Shares
धनुषा । धनुषाका निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । जिल्लाभरिका स्वास्थ्यकर्मीले आफूहरूमाथि श्रमशोषण भएको भन्दै आइतबार जनकपुरधाममा विरोध जुलुस निकालेका छन् ।
उनीहरूले ‘श्रम शोषण बन्द गर’, ‘१२ हजार तलबले घर चल्दैन’, ‘वी वान्ट जस्टिस’ लगायतका नारा लगाउँदै नगर परिक्रमा गर्नुका साथै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएका छन् ।
निजी स्वास्थ्य संस्था तथा अस्पतालले तोकेको भन्दा बढी समय काम गराउँदै आएको उनीहरूको आरोप छ ।
नेपाल सरकारले तोके बमोजिम न्यूनतम् पारिश्रमिक दिनुको सट्टा आठदेखि १२ हजारसम्म मात्र तलब दिने गरेको उनीले गुनासो गरेका छन् ।
कुनै स्वास्थ्यकर्मीले अस्पताल प्रशासनलाई गुनासो गरेमा कामबाटै हटाउने जस्ता कार्य भएको उनीहरूको भनाइ छ ।
विगत केही दिन अघि यी समस्या समाधान हुनुपर्ने भन्दै ती स्वास्थ्यकर्मीले प्रदेश सरकारसहित सम्बन्धित सम्पूर्ण स्वास्थ्य निकायमा ज्ञापन पत्र बुझाएका थिए ।
तर ती ज्ञापनपत्र बुझाएर पनि समस्याको कुनै समाधान नभएको भन्दै उनीहरू बिरोध गर्न बाध्य भएको जनाएका छन् ।
उनीहरूले आगामी दिनमा थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।