रौतहट । धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व ‘सामा-चकेवा’ प्रारम्भ भएको छ । छठको एक दिन पूर्व गरिने खरना विधिको दिनबाट नै याे पर्व शुरू हुन्छ ।
याे लोक पर्व दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामनासहित कात्तिकशुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनादेखि पूर्णिमाको दिनसम्म मनाइने गरिन्छ । यस अवसरमा नौदेखि ११औँ दिनसम्म गीति शैलीमा गाउँदै खेल्दै रमाउने गरिन्छ ।
यस पर्वमा चंगेरा, डलिया (बाँसले बनाइएको डालो) मा माटोेले बनाइएका रङ्गीचङ्गी सामा, चकेवा, चुगलालगायतका आकृति बनाई दियो बालेर चोक वा टोल गल्ली सडकमा गएर प्रत्येक साँझदेखि मध्यरात दिनसम्म खेलिने परम्परा छ ।
रौतहटसहित तराई मधेसका अधिंकाश गाउँमा समाचकेवा पर्वको रौनक छाएको छ । सामा-चकेवा पर्व चेलीबेटी र माइती पक्षका बीच रहेको अटुट श्रद्धा एवं प्रेमको प्रतीकका रुपमा मनाउने गर्दछन् ।
सामामा खेलिने क्रममा गाइने लोकगीतले भाषा संस्कृति तथा परम्परालाई जोगाएको चन्द्रपुर नगरपालिका वडा नं ६ का कमलेश चौधरीले बताए । उनका अनुसार यो पर्वले दाजुभाइ र दिदीबहिनीप्रतिको प्रेम दर्शाउँछ ।
सामा-चकेवा’ लोकपर्वको शुभारम्भ द्वापरयुगमा भगवान कृष्णको समयदेखि नै भएको मानिन्छ । द्वापरयुगदेखि चलिआएको सामा-चकेवा पर्व केवल मिथिलाञ्चलमा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि हर्षाेल्लास र लोकाचारका साथ मनाउने यस पर्वमा विशेष गरी नेपालका थारु जनजातिले पनि विशेष उत्साहका साथ मनाउने गर्दछन् ।
दश दिनसम्म सामाचकेवा खेलेर दिदीबहिनीले ११औँ दिनमा बिहानै सामाचकेवालाई पुनःबनाउने रङरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामाचकेवालाई दही चिउरा खुवाएर सोही सामाचकेवाबाट दाजुभाइको फाँर भराउने तथा दाजुभाइबाट सामाचकेवा फुटाउन लगाएर सामाचकेवालाई बाजागाजा, गीतनादका साथ दिदीबहिनीले गाउँको वनमा जोतिएको खेतमा लगेर बिसर्जन गर्ने गर्दछन् ।
सामाचकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास छ ।