रुकुम । नेपाल पत्रकार महासंघ रुकुमको कार्यालयमा ताला झुन्ड्याइएको छ । महासंघको सदस्यता सिफारिस गर्दा गैर पत्रकारलाई फर्जी सिफारिस गरेको भन्दै नेपाल प्रेस युनियन रुकुमले महासंघको कार्यालयमा ताला झुन्ड्याएको हो ।
गतको भदौ २६ गते महासंघको बैठकबाट गरेको निर्णय विपरीत फर्जी पत्रकारको सिफारीस गरेको प्रेस युनियनले जानकारी दिएको छ । विधान विपरीत गैैर पत्रकारलाई समेत महासंघको सदस्यता वितरण गरेको भन्दै छानविन नभएसम्मको लागि महासंघको कार्यालयमा तालाबन्दी गरिएको प्रेस युनियनका उपाध्यक्ष आदर्श केसीले जाकारी दिए ।
नेपाली श्रमजिवी पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ सदस्यता वितरण बारे संस्थाको मर्यादा, गरिमा र न्यूनतम मान्यतालाई समेत ध्यान नदिएर वितरण गर्ने कामले पत्रकार महासंघ विधि, विधान नियम विपरीत गएको उनको भनाई छ । सोमबार उपाध्यक्ष केसीको नेतृत्वमा गएको पत्रकारको टोलीले तालाबन्दी गरेको हो । जिल्लामा क्रियाशिल नै नरहेका र कुनै सञ्चार माध्यममा आवद्ध नरहेका व्यक्तिलाई सदस्यताको लागि जिल्लाको निर्णय विना नै केन्द्रमा सिफारिस गरेको बताइँदै छ ।