गौरीशंकर आरोहणका लागि गएका तीन पथप्रदर्शकको हिमपहिरोमा परेर मृत्यु, आठ बेपत्ता, उद्धारमा कठिनाइ
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
1k
Shares
फाइल तस्बिर
दोलखा । गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान हिमपहिरोमा परेका छन् ।
हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह आज बिहान ९ः०० बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।
उनीहरूको अवस्था अझै एकिन हुन सकेको छैन ।
आज बिहानैदेखि उद्धारका लागि प्रशासनलाई आग्रह गरे पनि उद्धारमा ढिलाइ भएको वडाध्यक्ष निमगेली शेर्पाले बताए । हेलिकोप्टर उडानका लागि रोल्वालिङ क्षेत्र प्रतिबन्धित भएकाले प्रशासनले अनुमतिमा ढिलाइ गर्दा थप समस्या भएको शेर्पाको भनाइ छ ।
हिमपहिरोमा परेकाको खोजीको प्रयास भइरहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीनहरुको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाए पनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।