arrow

अमेरिकामाथिको निर्भरता घटाउन क्यानाडाको बजेट

प्रधानमन्त्री कार्नीद्वारा 'दृढ उत्तर' को रूपमा परिभाषित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
mark-carney-canada-new.jpg

काठमाडौं। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मङ्गलबार आफ्नो पहिलो बजेट सार्वजनिक गर्दै अमेरिकामाथिको आर्थिक निर्भरता घटाउने र नयाँ भूराजनीतिक वास्तविकतालाई सम्बोधन गर्ने दीर्घकालीन रणनीति प्रस्तुत गरेको छ।

प्रधानमन्त्री कार्नीले अमेरिकी कर नीतिका कारण दबाबमा परेको क्यानाडाली अर्थतन्त्रका लागि यस बजेटलाई 'दृढ उत्तर' का रूपमा परिभाषित गरे। क्यानाडा र बेलायत दुवै देशका केन्द्रीय बैंकका गभर्नर रहिसकेका कार्नीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण उत्पन्न चुनौतीपूर्ण अमेरिकी सम्बन्धको अवस्थाबाट देशलाई पार लगाउने 'अनुभवी नेतृत्व' भएको व्यक्ति भनेर प्रस्तुत गरेका छन्। ट्रम्प प्रशासनले लगाएको उच्च करका कारण क्यानाडाको अटोमोबाइल, एल्युमिनियम र स्टिल उद्योगहरूमा ठूलो असर परी बेरोजगारी बढेको र उद्योगहरूमा लगानी घटेको छ।

गत साता दक्षिण कोरियामा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्नीले "नयाँ अमेरिकी व्यापार नीतिले सिर्जना गरेको अवरोधका बीच हामीले अब वृद्धि र अवसर कहाँ खोज्ने भन्ने प्रश्नको उत्तर यही बजेटले दिनेछ" भनेका थिए।

उनको लिबरल सरकारका अनुसार यो बजेटले क्यानाडाको आर्थिक र सुरक्षा नीति दुवैलाई अमेरिकी दबाबबाट स्वावलम्बी दिशातर्फ मोड्नेछ। अर्थमन्त्री फ्रान्कोइस–फिलिप च्याम्पेनले संसद्मा बजेट प्रस्तुत गर्नुअघि यसलाई 'लगानीमुखी बजेट' भनेर परिभाषित गर्दै 'यो भोलिको क्यानाडा निर्माण गर्ने योजना हो' भनेका थिए।

अर्थ मन्त्रालयले बजेटको विस्तृत विवरण गोप्य राखे पनि प्रमुख प्रावधानहरूमा नाटोको लक्ष्यअनुसार रक्षा खर्चमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ। साथै, प्रधानमन्त्री कार्नीले अमेरिकासँगको आर्थिक 'विच्छेद' का बीच क्यानाडाको आर्थिक सार्वभौमिकता बलियो पार्ने उद्देश्यले राष्ट्रिय स्तरका ठूला पूर्वाधार तथा ऊर्जा परियोजनाहरू का लागि रकम छुट्याउने तयारी गरेका छन्। यी परियोजनामा बन्दरगाह विस्तार, ऊर्जा उत्पादन र दुर्गम क्षेत्रका महत्त्वपूर्ण खनिज उत्खननलाई सशक्त पार्ने योजनाहरू समावेश छन्, जसलाई प्रधानमन्त्रीले 'क्यानाडाको भविष्यका लागि दीर्घकालीन लगानी' का रूपमा वर्णन गरेका छन्।

जनवरीमा तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई प्रतिस्थापन गरेका कार्नी अप्रिलमा सम्पन्न आमनिर्वाचनमा पूर्ण कार्यकालका लागि निर्वाचित भएका थिए। उनले ट्रम्प–युगका तनावहरू 'अझै समाप्त भएका छैनन्' भन्दै त्यसको असरबाट बच्न क्यानाडाले दीर्घकालीन रणनीति अवलम्बन गर्नैपर्ने चेतावनी दिँदै आएका छन्। "यो बजेटले अमेरिकामाथिको हाम्रो निर्भरता घटाउनेछ," उनले भने, "तर यस्तो रूपान्तरण रातारात सम्भव हुँदैन।"

हाल संसद्मा लिबरल पार्टी बहुमतभन्दा तीन सिटले कम भएकाले सरकारलाई बजेट पारित गर्न विपक्षीहरूको समर्थन वा अनुपस्थितिको आवश्यकता छ। बजेट 'विश्वास मत' भएकाले असफल भएमा नयाँ निर्वाचनको सम्भावना खुल्नेछ। सबैभन्दा ठूलो विपक्षी कन्जर्भेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले समर्थनको सर्तका रूपमा घाटा घटाउने माग गरेका छन्। ओटावा विश्वविद्यालयकी सार्वजनिक नीति विज्ञ जेनेभिभ टेलियरले बजेट घाटा निकै ठूलो हुने अपेक्षा गरे पनि सरकार खस्ने सम्भावना भने न्यून रहेको बताएकी छन्। वामपन्थी न्यु डेमोक्रेट पार्टी अर्को चुनाव टार्ने मनस्थितिमा देखिएकाले सम्भवतः मतदानबाट टाढा रहनेछ।

प्रधानमन्त्री कार्नीले बजेट पारित हुने आत्मविश्वासबारे सोध्दा भने, "म पूर्ण रूपमा विश्वस्त छु कि यो बजेट देशको आवश्यकता अनुरूपको सही बजेट हो। यो कुनै खेल होइन—आवश्यक परे मैले आफ्ना नीतिहरूको रक्षा चुनावी मैदानमै गर्नेछु।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ