arrow

दश कम्युनिष्ट पार्टीबीच एकता: नाम 'नेपाली कम्युनिष्ट पार्टी', चुनाव चिह्न 'पाँचकुने तारा'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
nepali-communist-party.jpg

काठमाडौँ। पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालसहितका शीर्ष नेताहरूको उपस्थितिमा आज विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी) लगायतका दलहरूबीच भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा एकता भएको हो।

एकता घोषणासँगै एकीकृत पार्टीको नाम 'नेपाली कम्युनिष्ट पार्टी' राखिएको छ भने यसको चुनाव चिह्न 'पाँचकुने तारा' सार्वजनिक गरिएको छ। पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहने बताइएको छ।

एकीकृत समाजवादीका वरिष्ठ नेता एवं एकता संयोजन समिति सदस्य प्रमेश हमालले सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएको बताए। पार्टीको तत्कालीन कार्यनीतिमा पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण र समाजवादको आधार तयार गर्ने उल्लेख छ।

एकीकृत पार्टीको केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद रहनेछ। प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ। पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयता को सिद्धान्तअनुरुप हुने सहमति भएको छ।

एकतामा सहभागी नौ दलहरूबीच आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ। केन्द्रीय समिति लगायत सङ्गठनात्मक संरचनाको गठन आपसी सहमति र समझदारीमा गरिने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ