काठमाडौँ। मध्य फिलिपिन्समा आएको शक्तिशाली कल्मेगी आँधी का कारण देशभर मृत्यु हुनेको सङ्ख्या बुधबार १०० भन्दा बढी पुगेको छ। यस आँधीको सबैभन्दा ठूलो प्रभाव सेबु प्रान्तमा परेको छ, जहाँको अवस्थालाई प्रान्तीय गभर्नर पामेला बारिकुआट्रोले 'अकल्पनीय र विनाशकारी विपत्' को संज्ञा दिएकी छिन्।
सेबुमा मङ्गलबार आएको आँधीका कारण विभिन्न शहरहरूमा भयानक बाढी पसेको थियो। बाढीले कार, नदी किनारका झुपडी र ठूला ढुवानी कन्टेनरसमेत बगाएको थियो। सेबुका प्रवक्ता रोन रामोसका अनुसार, प्रान्तीय राजधानी सेबु शहरको मेट्रो क्षेत्रमा पर्ने लिलोनमा मात्रै बाढीले डुबेका ३५ जनाको शव भेटिएको छ। यो डरलाग्दो समाचारसँगै सेबुमा मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ। छिमेकी नेग्रोस टापुमा पनि कम्तीमा १२ जनाको मृत्यु भएको र १२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
मौसम विशेषज्ञ चार्मेन भेरिल्लाले सेबु शहर वरपरको क्षेत्रमा काल्मेगी अवतरण हुनुभन्दा पहिलेको २४ घण्टामा १८३ मिलिमिटर (सात इन्च) वर्षा भएको बताएकी छिन्, जुन यसको मासिक औसत १३१ मिलिमिटरभन्दा बढी हो।
आँधीका कारण बढी प्रभावित क्षेत्र सेबुलगायतका स्थानबाट आठ लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ। पछिल्लो समय फिलिपिन्समा मानवीय हस्तक्षेपका कारण भएका जलवायु परिवर्तनका कारण आँधीबेहरी अझ शक्तिशाली हुँदै गइरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।