arrow

बढ्यो वैवाहिक अङ्गीकृत नागरिकता पाउनेको संख्या, तीन महिनामा दुई सयलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७३ माघ २५ मंगलबार
Banke-hamrakura.jpg.jpeg
खजुरा । जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ । नेपाली नागरिकसँग विवाह गरेकी भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेको बाँकेका प्रजिअ रविलाल पन्थले जानकारी दिए । 
 
उनका अनुसार गत कात्तिकदेखि पुस मसान्तसम्म ती भारतीय चेलीले नेपालीसँग विवाह गरेपछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेका हुन् । 
 
जिल्ला प्रशासन कार्यालय बाँकेले अघिल्लो आवमा एक वर्षको अवधिमा नेपाली नागरिकसँग विवाह गर्ने तीन सय ८४ भारतीय चेलीलाई नेपाली नागरिकता प्रदान गरेको थियो । 
 
नेपालीसँग विवाह गर्ने भारतीय चेलीले नागरिकता पाउँदैनन् भन्ने हल्ला चलाइए पनि वास्तविकता उनीहरुलाई नागरिकता लिन झनै सजिलो हुने गरेको कर्मचारी बताउँछन् ।
 
जिल्ला प्रशासन कार्यालयबाट हरेक शुक्रबार वैवाहिक अङ्गीकृतको नागरिकता वितरण हुने गरेको छ । 
 
नेपाली नागरिकसँग विवाह गर्ने भारतीय चेलीले नेपाली नागरिकता पाउनका लागि विवाह दर्ता, पतिको नागरिकता र विदेशी नागरिकता त्यागेको प्रमाणसहितको निवेदन दिनुपर्ने हुन्छ । 
 
हुलाकमा रजिस्ट्री गरिएको पत्र र निवेदनको प्रतिलिपिलाई पनि प्रमाणको रुपमा मान्ने गरिएको छ । नेपाली नागरिकता प्राप्त गर्नेलाई कर्मचारीले शपथग्रहण गराउने गरेको प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिए । 
 
कार्यालयका अनुसार अङ्गीकृत नागरिकताका लागि सातामा पाँचदेखि २५ जनासम्मको निवेदन प्राप्त हुने गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ