arrow

कस्तालाई टिकट दिने हैन पार्टीलाई जित्ने कसरी बनाउने भनी सोचौँ 

logo
विनोद चौधरी,
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
binod-chaudhary-nc-20-07-082.jpg

आज म आफ्नो भागको जिम्मेवारी लिन तयार छु किनकि म पनि एउटा निर्वाचित सांसद हुँ । तर पटक पटक राज्य व्यवस्थामा बसेको एउटा सरकारको हैसियतले आज प्रत्येक युवाको मनमा जुन प्रकारको निराशा छाएको छ, ऊ नेपालतिर फर्किएर पनि हेर्न चाहँदैन ।

बाहिर बसेका युवामात्र होइन उनको परिवार पनि ब्रिग्रिएको छ । एउटा ठूलो गम्भीर सामाजिक विचलन आएको छ । प्रत्येक घरमा त्यो पीडा कुनै न कुनै रूपमा प्रतिबिम्बित हुन्छ । विदेशबाट फोन आउँछ, त्यही फोनका आधारमा भोट खस्छ, हामीले भाषण गरेको काम छैन । 

कतिपय पार्टी नै त्यस्तै रूपमा बनेका छन् । र, आगामी दिनमा हाम्रो प्रतिस्पर्धा कोसँग हो ? हाम्रो प्रतिस्पर्धा त्यो निराश मानसिकतासँग हुनुपर्छ । त्यो निराश मानसिकतालाई एउटा आशाको किरण दिने, उनीहरूलाई कुनै न कुनै रूपमा उत्साहित बनाउने शक्ति दिनुपर्छ । 

नयाँ जोश जाँगर बोकेको त्यो पुस्ता हो । म जेन–जी आन्दोलनका नाममा हिंसात्मक गतिविधि गर्नेको कुरा गरिरहेको छैन, म पनि त्यसको पीडित हुँ । त्यसमा केही पार्टीका नेता पनि देखेको छु, केही गुण्डा पनि लागे, सामेल भए । साँच्चिकै सो राज्य व्यवस्थाबाट हरकिसिमबाट पीडा दिने काम भएको छ ।  

अहिले पार्टीभित्र जसरी बहस अघि बढेको छ, मलाई के लाग्छ भने घुमेर फिरेर टिकट कसले बाँड्ने हो भन्ने लडाइँ त हो । टिकट कसले बाँड्ने भन्ने होइन, कस्तालाई टिकट दिने र पार्टीलाई जित्ने बनाउने कसरी हो भनेर सोच्न आवश्यक छ । मलाई लाग्छ केन्द्रीय समितिमा सबैभन्दा बढी बहस यो हुनुपर्ने हो, सबैभन्दा ठूलो संवादको विषय यो हुनुपथ्र्यो । आज हामी कोसँग चुनाव लड्न गइरहेका छौँ ? 

हामी यस्तो मानसिकतासँग चुनाव लड्न गइरहेका छौँ कि जसले तीन ओटै दललाई निषेध गरिसके । यी दलभित्र राम्रा मान्छे पनि होलान्, नराम्रा मान्छे पनि होलान् । एक से एक त्याग गरेका तपस्वी पनि होलान् । सबैभन्दा बढी भ्रष्टाचारी पनि होलान् । उनीहरूलाई सामाजिक सञ्जालबाट होस् या ३५ वर्षमा बनेका ३५ ओटै सरकारका कारणले होस्, एउटा यस्तो भाष्य बनाइयो कि यी पार्टीहरूका हातबाट देश र हाम्रो कल्याण छैन । देशतिर फर्किएर नगए पनि हुन्छ ।  

आजको सबैभन्दा महत्वपूर्ण विषय यही हो । यसका लागि हाम्रो पार्टीको भोलिको रणनीति के हो, पढेलेखेका र जीवनमा केही न केही हासिल गरेका खाली केवल राजनीतिका लागि राजनीति मात्र गर्ने होइन, राजनीतिलाई पेशामात्र बनाउने होइन । 

नेपाली कांग्रेसलाई अब आउने दिन रूपान्तरित पार्टीको रूपमा हेर्न चाहेको छु, जसले ती सबै मानसिकतालाई चिर्न सकोस् । नेपाली कांग्रेस जाग्यो, अर्कै ढंगले अघि बढ्यो । कांग्रेसले सम्पूर्ण ढोकाहरू खोल्यो । १० वर्ष कुनुपर्ने अवस्थाको अन्त भयो । अहिले विभिन्न क्षेत्रबाट आएकाहरूले आ–आफ्नै पार्टी दर्ता गरिसके । 

देश कहाँ पुग्दैछ, कसरी बदलिँदै गइरहेको छ । के हामी ती सबै, जेन–जी र जेन–जीका भावनालाई समेट्न तयार छौँ ? अहिले सबैभन्दा ठूलो पार्टी कांग्रेस जुन ठाउँमा उभिएको छ, अब नयाँ ढंगले आफूलाई प्रस्तुत गर्न सकेनौँ भने परिणाम फरक आउन सक्छ । फेरि पनि देशभित्र र देश बाहिरका जनताका मनमा नयाँ स्वरूपबाट कांग्रेस अघि बढ्यो भनेर देखाउनुपर्छ । 

हाम्रो रणनीति यो हुनुपर्छ । यदि यति गर्न सकेनौँ भने भोलि पनि त्यही नै नियति भोग्नुपर्ने निश्चित छ । 

हामीले कसरी जेन–जीका भावनालाई समावेश गर्न सकिन्छ कि सकिँदैन ? जेन–जी अनुहार पार्टीभित्र भित्र्याउने कि नभित्र्याउने ? पार्टीलाई नयाँ ढंगबाट अघि लैजान नयाँ ऊर्जा, जोश र जाँगर देखाउने कि नदेखाउने ? प्राविधिक कुरामा मात्र अल्झिएर नबसौँ । हामी जोसँग प्रतिस्पर्धा गर्दैछौँ उनीहरूको आँकलन गरेर अघि बढ्न सक्नुपर्छ । (कांग्रेस केन्द्रीय सदस्य चौधरीले पार्टी केन्द्रीय कार्यसमितिको बिहीबार गरेको सम्बोधनबाट) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ