दाङ। दाङमा एक महिनामा एक हजार ७०० मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि शुरू भएको नयाँ मतदाता नामावली दर्ता तथा अद्यावधिकमा सो सङ्ख्यामा नयाँ मतदाता थपिएका हुन् ।
गत असोज १२ गतेदेखि शुरू भएको मतदाता नामावली दर्ता तथा अद्यावधिकमा बिहीबारसम्म एक हजार छ सय ८० जना नयाँ मतदाता थपिएका हुन् ।
यो सङ्ख्या न्यून रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । “यो निकै न्यून सङ्ख्या हो, अहिले जिल्लाबाट मात्रै मतदाता नामावली दर्ताको काम भइरहेको छ”, उनले भने, “त्यसले पनि दर्ता गर्ने कम भएका हुन सक्नछन् ।”
हालसम्म पाँच सय ९४ महिला र एक हजार ८६ जना पुरुषले मतदाता नामावली दर्ता गरेको जनाउँदै उनले दर्ता गराउनेमध्ये अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका रहेका बताए ।
यसअघि २०७९ सालमा भएको प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनको तयारीका बेला दैनिक कम्तीमा पनि पाँच सय भन्दाबढीले नामावली दर्ता गराउने गरेका स्मरण गर्दै कुँवरले यसपटक एक महिनामा दुई हजार पनि नपुगेको बताए । जिल्ला प्रशासनमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने भने घुइँचो लागेको उनको भनाइ छ ।
राजनीतिक दलहरू पनि यसपटक मतदाता दर्ता अभियानमा सक्रिय नभएकाले दर्ता हुनेको सङ्ख्या कम देखिएको सूचना अधिकारी कुँवरले बताए । उनका अनुसार यही कात्तिक ३० गतेसम्म नामावली दर्ता र अद्यावधिक गर्ने मिति तय भएको छ ।
दाङमा हाल तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । अहिले कूल मतदाता सङ्ख्या चार लाख १६ हजार सात सय ३५ पुगेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । तीमध्ये दुई लाख ११ हजार सात सय १६ महिला, दुई लाख पाँच हजार १७ पुरुष र अन्य दुई जना मतदाता रहेका छन् । रासस