गौशाला । महोत्तरीका सामुदायिक वनमा केही समययता काठ तस्करी मौलाएको छ । समुदायलाई हस्तान्तरण गरिएको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उत्तरको प्राकृतिक वनमा साल, साखु, सिसौँलगायतका मूल्यवान प्रजातिका पुराना रुखको तस्करी मौलाएको बताइँदै छ ।
वन गस्तीका क्रममा रुख काटेर तस्करीका लागि लैजान ठिक पारेको अवस्थामा सयौँ क्युफिट काठ फेला परेपछि काठ तस्करी मौलाएको खुलासा भएको हो । तस्करीका लागि राखिएका गोलियाले लक्ष्मिनियाँस्थित वन विभागको सेक्टर कार्यालय परिसर भरिएको छ ।
वनको गस्ती टोलीले खयरमारा– ५ स्थित बाँके मरहा साझेदारी वनबाट सोमबार एक सय ९ क्युफिट बराबरको सात गिन्डा साखु जातको काठ बरामद गरेको छ । काठ व्यवसायीकाअनुसार बरामद काठको बजार मूल्य करिब तीन लाख अनुमान गरिएको छ ।
बाँके मरहा साझेदारी वनका अध्यक्ष रामलला साहकाअनुसार यसअघि पनि सोही साझेदारी वनबाट हजार क्युफिट बराबरका काठ बरामद भएको थियो । जिल्लामा यो समेत तीन साझेदारी र सात भन्दा बढी सामुदायिक वन छन् । वन पदाधिकारीका अनुसार काठ चोरी तस्करी नियन्त्रण नहुँदा सबै वन रित्तिन लागेका छन् ।
सागरनाथ वन विकास परियोजनाले लोकमार्ग दक्षिणको वन अधिग्रहणपछि परियोजना मातहतका जङ्गलभर सडक निर्माण गरेकाले पनि काठ तस्करलाई सहज बनेको बताइँदै छ ।