जनकपुर। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज (शनिबार) प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन्।
उनी गत असोज २९ गते पाँच दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए। सोही उपधारा बमोजिम उहाँले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो।
१०७ सदस्यीय प्रदेशसभामा हाल १०४ जना सदस्य कायम रहेका छन्। संविधानअनुसार मुख्यमन्त्रीका लागि विश्वासको मत प्राप्त गर्न प्रदेशसभामा कायम सदस्यको बहुमत अर्थात् कम्तीमा ५३ मत आवश्यक हुन्छ।
मुख्यमन्त्री सोनललाई हाल जनता समाजवादी पार्टी (जसपा) नेपालका १८ जना, जनमत पार्टीका ११ जना, माओवादी केन्द्रका ९ जना, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ८ जना, नेकपा (एकीकृत समाजवादी)का ७ जना, नागरिक उन्मुक्ति पार्टीका १ जना र नेपाल संघीय समाजवादी पार्टीका १ जना गरी कुल ५६ जना सांसदको समर्थन रहेको बताए।