सर्वदलीय सहमति भएको स्थानीय तह यता उता हुँदैन : प्रचण्ड
प्रकाशित २०७३ माघ २५ मंगलबार
922
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय सहमति भई पठाएका स्थानीय तह यता उता नहुने बताएका छन् । प्रधानमन्त्री दाहालले आयोगको मापदण्ड नै सर्वदलीय सहमति भएकोले सर्वदलीय सहमति भएर पठाएका स्थानीय तह यता उता नहुने बताएका हुन् ।
रुकुमको पुठा गाउँपालिका सरोकार समितिसंगको भेटमा प्रधानमन्त्रीले यसो भनेका हुन् । दाहालले भने, ‘यहाँ निगाहले चल्नेवाला छैन । तर, सर्वदलीय सहमति आयोगको पनि टिओआरभित्र पर्ने भएकोले सर्वदलीय सहमति भएका तहको सन्दर्भमा करेक्सन हुनसक्छ । मेरो पनि रुकुमको सन्दर्भमा हुनुपर्यो भन्ने छ ।’
प्रधानमन्त्री प्रचण्डले धेरै थपघट गर्न नसकिने भएपनि जहाँ नमिलेको छ त्यहाँ मिलाउन सकिने बताए । ‘यस विषयमा संविधानविद र कानुनविदसंग पनि सल्लाह लिएका छौँ, जहाँ नमिलेको छ त्यहाँ मिलाउनुपर्छ भन्ने छ’ प्रधानमन्त्री दाहालले भने ।
रुकुममा पुठा गाउँपालिका सहित १० स्थानीय तह बनाउने सर्वदलीय सहमति भएपनि जिल्लाबाट पठाएको विवरण आयोगले परिवर्तन गरी पुठा गाउँपालिकालाई हटाएको भन्दै स्थानीयले विरोध गरेका छन् । रन्मामैकोट, हुकाम र जाङ्ग ८ र ९ मिलाएर पुठा गाविस नभएमा गाउँपालिकामा जनताले दुःख पाउने सरोकार समितिका संयोजक केशरमान रोकायाले बताए ।