चुरेस्थित 'बर्फानी बाबा' मन्दिर धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
782
Shares
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी–४ स्थित चुरे पहाडमा रहेको 'बर्फानी बाबा' मन्दिर धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। नेपालगञ्ज बजारबाट करिब ३० किलोमिटर पूर्वदक्षिणमा अवस्थित यस मन्दिरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ।
नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देलले पदयात्रा गरेर मनोरम दृश्यहरूको दृश्यावलोकन गर्दै मन्दिर पुग्न सकिने जानकारी दिए। उनका अनुसार, राप्तीसोनारी गाउँपालिकाको कुम्भरबाट करिब दुई घण्टाको पैदलयात्रा पछि यो मन्दिर पुग्न सकिन्छ, तर यस क्षेत्रको थप विकासका लागि लगानी बढाउन आवश्यक छ।
राप्तीसोनारी गाउँपालिकाका पूर्वअध्यक्ष लाहुराम चौधरीले आफ्नो कार्यकालमा छ वर्षअघि रु ३० लाखको लागतमा मन्दिर निर्माण गरेको र बाटो निर्माणमा पनि रु २८ लाख खर्च गरिएको बताए। खानेपानी तथा भक्तजन बस्ने प्रबन्ध भइसके पनि मन्दिर क्षेत्रमा शौचालयको व्यवस्थापन हुन नसकेको र आवतजावतमा अझै कठिनाइ रहेको उनको भनाइ छ।
'बर्फानी बाबा' मन्दिरका प्रमुख बाबा केशव गिरीले मन्दिरमा बर्सेनि आगो लाग्ने समस्या झेल्नुपरेको भन्दै मन्दिर क्षेत्रमा चारैतर्फ पर्खाल निर्माण आवश्यक भएको बताए। भारतीय पत्रकार एसके मदेशिया र गुल्मेली सेवा समाज बाँकेका हरिलाल न्यौपानेले पनि यहाँको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै मन्दिर जानका लागि आवतजावतलाई सहज बनाउनुपर्नेमा जोड दिएका छन्।
मन्दिरमा केही वर्षअघि मात्रै रु ७० लाख खर्च गरेर खानेपानीको व्यवस्थापन गरिएको थियो भने प्रदेश सरकारले पनि बर्सेनि बजेट लगानी गरिरहेको छ।