arrow

मधेस प्रदेश

मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने कांग्रेसको तयारी, ७४ सांसदको साथ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
madhesh-oath.jpg

काठमाडौँ । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णाप्रसाद यादवले मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव आज मुख्यमन्त्री पदमा नियुक्त भएपछि जनकपुरधाममा आयोजित विरोध कार्यक्रममा उनले यो कानुनी लडाइँअन्तर्गत सर्वोच्च अदालतमा जान लागेको स्पष्ट पारे।

नेता यादवले एमाले पार्टीबाहेकका ७४ जना प्रदेश सांसदको हस्ताक्षर सहित आफूहरू अदालती प्रक्रियामा जान लागेको जानकारी दिए। उनीहरूले नेपालको संविधानको धारा १६८ को उपधारा–२ बमोजिम नयाँ सरकार गठनको माग गर्दै कांग्रेससहित विभिन्न सात दलसम्बद्ध सांसदको साथ र सहयोगमा अदालत जान लागेको बताएका छन्।

यसअघि, लोसपाका नेता जितेन्द्रप्रसाद सोनलले विश्वासको मत लिन नसक्ने वातावरण सिर्जना भएपछि प्रदेश मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहानै एमाले नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेपछि कांग्रेससहितका सात राजनीतिक दल सो कदमको विरोधमा राजनीतिक तथा कानुनी लडाइँमा उत्रिएका छन्।

यसैबीच, प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको सचिवालयले भने नेपालको संविधानको धारा–१६८ को उपधारा–३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको स्पष्ट गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ