पर्सामा बाघले चार प्रहरीसहित १० जनालाई आक्रमण गर्याे, चारको अवस्था चिन्ताजनक
प्रकाशित २०७३ माघ २५ मंगलबार
1k
Shares
वीरगन्ज । पर्सा वन्यजन्तु आरक्षबाट निस्केर बस्तीमा छिरेको बाघको आक्रमणबाट चार जना सुरक्षाकर्मीसहित १० जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
पर्साको रामनगरी र लखनपुर गाविस बीचमा पर्ने खेतमा काम गरिरहेका मान्छेलाई बाघले झम्टिएर घाइते बनाएको प्रहरीले जनाएको छ । खेतमा काम गरिरहेका खेतालालाई झम्टिएपछि घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चक्रबहादुर शाहसहित चारजना सुरक्षाकर्मीलाई पनि बाघले झम्टेर घाइते बनाएको बताइएको छ ।
बस्ती पसेको बाघलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरीले गोली हानेर मारेको छ । जिल्ला वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र राष्ट्रिय वनजन्तु आरक्षको टोली परिचालन भएपनि बाघलाई नियन्त्रणमा लिन बल बुँताले भ्याएन ।