arrow

भाइरल फ्लूको तीव्र संक्रमण, विद्यालय तीन दिनका लागि बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
umakunda-school.jpg

रामेछाप। रामेछापको उमाकुण्ड गाउँपालिकामा भाइरल फ्लुको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि जनस्वास्थ्यमा चुनौती बढेको छ। गाउँपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थी सामूहिक रूपमा बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ।

भाइरल सङ्क्रमणका बिरामी बढेपछि उमाकुण्ड–४, प्रितीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। विद्यालयका प्रधानाध्यापक रुद्रकुमार जेस्पुचाका अनुसार, मङ्गलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले सङ्क्रमणको जोखिम नियन्त्रणका लागि कात्तिक २६ देखि २८ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो।

कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूमा ज्वरो, खोकी, टाउको दुख्ने र बान्ता हुनेजस्ता लक्षण देखिएका थिए। मङ्गलबारसम्म विद्यालयमा अध्ययनरत ३ सय ६९ विद्यार्थीमध्ये १ सय ८५ जना बिरामी परिसकेका छन्। विद्यालय प्रशासनले कात्तिक ३० गते आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरेको छ।

उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारका अनुसार, गाउँपालिकाभित्र भाइरल फ्लुसँगै सर्ने खालका ब्याक्टेरियाका सङ्क्रमणहरू पनि देखिएका छन्। हाल गाउँपालिकाका सातै वडामा २ सय ८३ जना (१३९ महिला र १४४ पुरुष) भाइरल फ्लुका बिरामी उपचारमा छन्।

यसका साथै, गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा गरी ४ सय १३ विद्यार्थी बिरामी परेका छन्। अधिकांश बिरामीमा ज्वरो, खोकी, टाउको दुख्ने, शरीर जोर्नी दुख्ने, र बान्ता हुनेजस्ता लक्षण देखिएका छन्। स्वास्थ्य शाखा प्रमुख सुनुवारले केही बिरामीमा सर्ने खालको कडा ब्याक्टेरिया पनि भेटिएकोले उच्च सतर्कता अपनाउन र विद्यालय तथा सार्वजनिक स्थानहरूमा भीडभाड कम गर्न गाउँपालिकाले अभिभावक, विद्यार्थी र स्थानीय बासिन्दालाई अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ