बैठक छोट्याएर महाधिवेशनको मिति तोकेर मैदानमा खटियोस्, पार्टीलाई निखार्ने यो भन्दा उत्तम समय कांग्रेसलाई कहिल्यै हुने छैन
सोमराज पोखरेल,
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
1.4k
Shares
नेपालको राजनीतिक माहोल यस्तोसँग बदलिएको छ कि त्यसको छनक निर्वाचन आयोगको गेटमा पुगेर हेर्नेलाई स्पष्टै थाहा हुन्छ । नयाँ दलहरू नयाँ विचार लिएर आइरहेका छन् ।
उता सत्ताबाट एकैपटक पछारिएर कयौँ दिनसम्म खोज्दा पनि नभेटिएका नेपाली कांग्रेसका नेताहरू अहिले आएर नियमित कि विशेष महाधिवेशन भनेर बहस गरिरहेका छन् ।
नाम जेसुकै दिए पनि महाधिवेशन बढीमा पुसभित्रै गर्नु कांग्रेसका लागि श्रेयकर छ । चाहे कानूनतः होस् वा व्यवहारिक पक्ष हेर्दा होस् पुसभित्र कांग्रेसको महाधिवेशन हुनुपर्छ ।
कानूनी पक्ष हेर्ने हो भने कांग्रेसको विधानअनुसार पनि पुसभित्र महाधिवेशन गर्नैपर्छ । ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरे भने ९० दिनभित्र महाधिवेशन बोलाएर उनीहरूका एजेन्डा सम्बोधन गर्नुपर्छ । अहिले त ५४ प्रतिशतले गत असोज २९ गते हस्ताक्षरसहित बुझाइसकेका छन् । पुसभित्र म्याद सकिन्छ ।
व्यवहारिक पक्ष के हो भने अहिले राजनीति निकै तरल अवस्थामा छ । कांग्रेसले आफूलाई जिम्मेवार बनाउन पनि परिस्कृत हुनु जरुरी छ । त्यो परिस्कृत हुनका लागि महाधिवेशन गर्ने र नयाँ नयाँ युवालाई यथोचित अवसर दिएर सुशासित बनाउनु महत्वपूर्ण छ । यसैले त कांग्रेसभित्र स्थानीय तहदेखि केन्द्रसम्म आमूल परिवर्तन जरुरी छ ।
काम नगर्ने तर जहिले पनि सत्ता र शक्तिको वरिपरि बसिरहनेले कांग्रेसलाई उँभो लगेकै छैनन् । अब कांग्रेसले आफ्ना यति क्रियाशील सदस्य छन् भनेर पनि नभने हुन्छ ।
ती क्रियाशील ९५ प्रतिशत (अनुमानित) सदस्यले त पार्टीमा लागेर के भयो भन्ने थाहा पनि पाएका छैनन् होला । अनि व्यर्थको चार पाँच वर्षको दुई सय रुपैयाँ लिएर (कतिपयको त आफैँले नेताहरूले पैसा तिरिदिएका पनि होलान्) यति क्रियाशील सदस्य छन् भनेर भन्नु अब हाँस्यास्पद बाहेक केही हुन सक्दैन । यो कांग्रेसको मात्र हैन ठूला भनिएका एमाले र पुष्पकमल दाहाल प्रचण्डका कार्यकर्ताहरूको हालत पनि त्यही हो ।
यसअघिको निर्वाचनमा बनेका नयाँ दल र अहिले भट्टाभट दर्ता भएका दलका नेताहरू पनि आफ्नै दलका नेता कार्यकर्ता थिए भन्ने कांग्रेसले बिर्सनु हुन्न ।
हो, त्यसैले कांग्रेसले आफ्नो शाख जोगाउने हो र राणाशासनदेखि नेपाली जनताका लागि लड्दै आएको र अहिलेसम्मको परिवर्तनको नेतृव गर्दै आएको जुन इतिहास रचेको छ त्यसलाई निरन्तरता दिने हो भने कांग्रेसभित्र आमूल परिवर्तन जरुरी छ ।
आफू नसुध्रिइकन अरुलाई सुधार्छु भन्नु मूर्खता हो । त्यो मूर्खता अब कुनै पनि कांग्रेसी नेताले नगरे हुन्छ । यो समयको माग हो । समयभन्दा बलबान कोही पनि छैन ।
वास्तविक जेन–जी आन्दोलनले थालेको एउटामात्र मुद्धा – भ्रष्टाचार थियो । यही भ्रष्टाचारले गर्दा नै कांग्रेस बहुदलपछि सीमित नेताहरूका कारण गन्हाउँदै गएको छ ।
अरुलाई आरोप लगाउन पछि नपर्ने तर आफू चोखो बनिरहने प्रवृत्तिले गर्दा कांग्रेस बदनाम छ । यो केवल आरोपमात्र हो र दोष छैन भने अब कांग्रेसले महाधिवेशन गरेर प्रमुख मुद्धा नै भ्रष्टाचारको अन्त्य बनाउन सक्नुपर्छ ।
अहिलेको सरकारलाई भ्रष्टाचार विरुद्धका हरेक छानबिनमा सघाएर जनतामाझ कांग्रेसको इमानदारी पेश गर्न सक्नुपर्छ । नत्र दोष नेताहरूमै छ भनेर बुझ्न कुनै गाह्रो छैन ।
कांग्रेसकै कतिपय युवा नेताहरूले संसदमै २०४८ सालदेखि लाभकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन गरौँ भनेको वर्षौँ भइसकेको छ । अहिलेसम्म न पार्टीले सुन्यो न अन्य दलको सरकारले सुन्यो । स्पष्टै छ भ्रष्टाचारको लहरो ठूलो छ । सबै दलमा छ ।
यो लहरोलाई जरैदेखि उखेल्न कोही त लाग्छ नै । लाग्नैपर्छ । जेन–जी आन्दोलनमा अनाहकमा टाउको र आँखामा ताकीताकी गोली हान्ने आदेश दिने सरकारलाई साथ दिएको कांग्रेसले भुल्नुहुन्न । यदि त्यसो नभएको भए कांग्रेसका सबै मन्त्रीले भदौ २३ गते नै राजीनामा दिनुपर्दथ्यो ।
कसैले केही पनि नगर्ने अनि फेरि जनताले सबै गर्देलान् भनेर अब कांग्रेसले नसोचोस् । त्यतिबेला लोकतान्त्रिक पार्टी नहुँदा कांग्रेस निर्विकल्प लोकतान्त्रिक दल दल थियो । अहिले धेरै भइसकेका छन् भनेर नभुलोस् ।
परिवर्तनलाई आत्मसात् गर्ने पार्टी टिक्छ । आत्मसात् गर्न नसक्ने पार्टी सकिन्छ । कांग्रेसले अब दिनका दिन केन्द्रीय समिति बैठक राख्नुको अर्थ छैन । अब आरोप प्रत्यारोप सुन्ने समय पनि छैन ।
चाडपर्व सबै सकिएका छन् । खेतीपाती पनि लगभग भित्रेको छ । मौसम पनि अनुकूल बनेको छ । बहाना केही पनि छैन । अब पूर्ण ध्यान महाधिवेशनमा लगाओस् । गाउँदेखि सहरसम्म एउटै लहर चलोस् ।
चुनावी प्रक्रियाको समय छोटो छोटो राखियोस् । यसअघि विषम परिस्थितिमा त ४० दिनमा महाधिवेशन गरेको कांग्रेस हो । चाहने हो भने ३० दिनमै पनि गर्न सक्छन् कांग्रेसका युवा नेताहरूले महाधिवेशन ।
कांग्रेस अहिले फुर्सदमा छ । न सत्तामा छ । न प्रतिपक्षमा छ । सम्भवतः कांग्रेस योभन्दा फुर्सदमा त कहिले पनि थिएन । सडकमा जाने एजेन्डा पनि छैनन् ।
योभन्दा पार्टीलाई भित्रबाट निखार्ने उत्तम समय कांग्रेसले कहिल्यै पाउने छैन । यति हुँदा हुँदै पनि कांग्रेसले अहिले पार्टी मुख्यालय बीपीनगर सानेपामा समयको बरबादी गरिरहेको छ ।
नेताहरू यति फुर्सदमा छन् कि असोज २८ गतेदेखि शुरू भएको केन्द्रीय कार्यसमिति बैठक अहिलेसम्म सकिएको छैन । तत्कालै सकिने छाँट पनि छैन ।
कतिपय नेताहरू हाइ काढेर बसेका छन् त कतिपय आफू बोलेर हिँडिहाल्छन् । भेला भए पनि हुने नभए पनि हुने । यसले समयमात्र नष्ट भइरहेको छ । अहिलेको चुरो कुरो नै महाधिवेशन हो र त्यही महाधिवेशनले सशक्त एजेन्डा अगाडि लिएर जान्छ । जानुपर्छ ।
कांग्रेसको एक पक्ष भन्दैछ फागुन २१ को प्रतिनिधि सभाको चुनाव सकेर वैशाखमा महाधिवेशन गर्ने भनेर । चुनाव जिते सत्तामा पुगिएला । अनि फेरि हानथाप होला । सत्तामा सिट नपुगे प्रतिपक्षमा पुगिएला । फेरि महाधिवेशनतिर लाग्दा प्रतिपक्ष कमजोर भयो भन्ने होला । बहाना अनेक आउलान् । पार्टीमा निखार फेरि कहिले आउला त ?
अर्को कुरा यदि पुसभित्रै महाधिवेशन नहुने हो भने के कुनै नेतासँग यो ग्यारेन्टी छ कि वैशाखसम्म कांग्रेसका सबै नेता कार्यकर्ता कांग्रेसमै रहलान् । कांग्रेसले आफूलाई लोकतान्त्रिक भन्ने अनि महाधिवेशन गर्न डराउने ? ०७८ को मंसिरमै महाधिवेशन गरेको कांग्रेसले विधानअनुसार नै नियमित महाधिवेशन आगामी मंसिरमै गर्न सक्दथ्यो ।
ती ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले मागेको विशेष महाधिवेशनको हस्ताक्षरको अवमूल्यन गरेर पनि त कांग्रेस अगाडि बढ्न सक्दैन । आखिर केका लागि र कसका लागि कांग्रेसले यो महाधिवेशन गर्न ढिलाई गर्ने धृष्टता गरिरहेको छ त ?
सभापति शेरबहादुर देउवाले इमानदारीपूर्वक आफूले मार्मिक भाषण गरेर असोज २८ गते नै कार्यकारी त्यागेको घोषणा गरेर जिम्मेवारीबाट टाढिएका छन् । उनीमाथि भदौ २४ गते सांघातिक हमलाले उनी मर्माहित हुनु स्वभाविकै हो । उनी उपचारका लागि सिंगापुरमा छन् ।
कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्काले अब बहुमत महासमिति सदस्यले मागेबमोजिम समयमै महत्वपूर्ण महाधिवेशन सम्पन्न गरेर आफूलाई किसुनजीको अनुयायीको खाँटी परिचय देउन् । उनी आफ्नो निष्टाको राजनीतिलाई कुनै गुटको षड्यन्त्रको हिलो छ्याप्न नदिइ किसुनजीको अनुयायी नै बनुन् ।
कांग्रेसले आफूलाई बलियो बनाउने हो भने आपसमा मिल्नुको विकल्प छैन । यसअघिका निर्वाचनभन्दा अब हुने जुनसुकै निर्वाचन कांग्रेसका लागि फरक छ ।
गाउँका हरेक गौँडागौँडामा एमाले र प्रचण्डका कार्यकर्ता हैन नयाँ जेन–जीहरू भेटिने छन् । ती जेन–जीको विचारसँग भिड्नसक्ने कांग्रेस कार्यकर्ता नहुने हो भने कांग्रेसको पतन निश्चित छ ।
त्यसैले कांग्रेसले पहिले आफैँभित्र खारिएर नेताहरू ल्याओस् अनि राष्ट्रिय निर्वाचनमा होमियोस् । हैन भने निर्वाचनमा सहभागी यति दल र कांग्रेस यतिऔँ स्थानमा भनेर लेख्ने दिन नआओस् । ‘हिङ नभए पनि हिङको टालो छ’ भनेर हुँदैन अहिलेको पुस्ताले हिङ भनेपछि हिङ नै खोज्छ ।
केही कांग्रेसीहरु महाधिवेशन नभए पार्टी फुट्छ पनि भनिरहेका छन् । त्यो अर्को भ्रम हो । त्यसका लागि पार्टी फुट्नै पर्दैन । नेताहरुबीच फुट आउने मात्र हो । त्यो अवस्था आउने हो भने कार्यकर्ताले आफ्नो बाटो रोजिसकेका हुन्छन् । पहिले नेताले गाउँमा गएर एउटा भाषण गरिदिएको भरमा पाँच वर्षका लागि भोट आउँथ्यो होला । अब त गौँडागौँडामा जनताले कार्यकर्तालाई र कार्यकर्ताले नेतालाई हेरिरहेका छन् ।