बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको पाइएको छ।
गत असोज ९ गतेदेखि नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएकामा हालसम्म ६ सय १८ जनाको नाम दर्ता भइसकेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर रतन चन्दले जानकारी दिए। दर्ता भएकामध्ये २०१ महिला र ४१७ पुरुष छन्। यस्तै बाहिरी जिल्लाका दुई महिला र सात पुरुषको पनि नाम दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताउनुभयो। यसअघि बैतडीमा एक लाख ६१ हजार ३१२ जनाको नामावलीमा नाम दर्ता भएको तथ्याङ्क छ।
निर्वाचन आयोगको वेबसाइट www.election.gov.np मा गएर अनलाइनमार्फत आफ्नो विवरण भरेर फारम प्रिन्ट गरी निर्वाचन कार्यालयमा फोटो र फिङ्गर प्रिन्ट लिएपछि नामावलीमा नाम दर्ता हुने गर्दछ।
जिल्ला निर्वाचन कार्यालयले नामावलीमा यसअघि नाम दर्ता गराउन छुटेका १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका सम्पूर्ण नागरिकलाई नाम दर्ता गराउन आग्रह गरेको छ। यद्यपि, फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ।