भविष्यको युद्ध अन्तरिक्षमा : रुसको खतरा देखाउँदै फ्रान्सले बढायो सैन्य अन्तरिक्ष बजेट
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
2.1k
Shares
फ्रान्स। रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘भविष्य’ को युद्ध अन्तरिक्षमा सुरु हुने बताएका छन्। फ्रान्सको नयाँ अन्तरिक्ष सैन्य कमान्ड सेन्टर रहेको टुलुसमा बुधबार अन्तरिक्षमा सैन्य गतिविधिमा अरबौँ युरो खर्च बढाउने घोषणा गर्दै उनले भने, “अहिले विश्व आकाशमा युद्ध लडिरहेको छ र भोलिको युद्ध अन्तरिक्षबाट सुरु हुनेछ।”
म्याक्रोनले अन्तरिक्ष अब अभयारण्य नभई युद्धको मैदान बनेको बताए। उनले रुसले २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि अन्तरिक्षमा ‘जासुसी’ गतिविधिहरू गरिरहेको बताए। रुसी अन्तरिक्ष यानहरूले फ्रान्सेली उपग्रहहरूको निगरानी गरिरहेको, जीपीएस सिग्नलहरू सामूहिक जाम भएको र अन्तरिक्ष पूर्वाधारहरूमा साइबर आक्रमण भएको उल्लेख गरे। म्याक्रोनले अन्तरिक्षमा आणविक हतियारको रुसी धम्कीलाई पनि औंल्याउँदै भने, “अन्तरिक्षमा आणविक हतियारको प्रभाव सम्पूर्ण विश्वका लागि विनाशकारी हुनेछ।”
यस खतरालाई मध्यनजर गर्दै, म्याक्रोनले सन् २०३० सम्म सैन्य अन्तरिक्ष गतिविधिका लागि थप ४.२ अर्ब युरो (४.९ अर्ब डलर) को कोष घोषणा गरेका छन्। उनले युरोपेली अन्तरिक्ष क्षेत्रमा ‘कमजोर’ रहेको बताउँदै, युरोपेली च्याम्पियनहरू विश्व बजारमा प्रतिस्पर्धी हुनुपर्ने आवश्यकतामा पनि जोड दिए।
फ्रान्सको अन्तरिक्ष रणनीतिका लागि ‘भविष्यका प्रक्षेपकहरू विकास गर्ने’ र पुनः प्रयोग गर्न योग्य, कम लागतको प्रणोदन र उच्च–थ्रस्ट इन्जिनहरू जस्ता प्राथमिकताहरू निर्धारण गरिएको छ। म्याक्रोनले अमेरिकी अर्बपति एलन मस्क र जेफ बेजोसको महत्वाकाङ्क्षी कार्यक्रमलाई सङ्केत गर्दै, ‘स्पेस म्याग्नेट’ मा निर्भर हुने प्रश्नै नभएको बताए।
उनले फ्रान्सले जर्मनीसँगको सहकार्यमा उन्नत चेतावनी क्षमताहरूको विकासलाई गति दिइरहेको र अन्य राज्यहरूमा निर्भरता कम गर्न ‘अरोर राडार’ प्रणालीको साथ अन्तरिक्ष निगरानीलाई बलियो बनाइरहेको बताए। उनले अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्दै जमिन र अन्तरिक्षबाट काम गर्ने माध्यमहरूमा लगानी गरिरहेको समेत स्पष्ट पारे।