प्रधानमन्त्रीको काम : चितवनमा एक सय ६० सुकुम्वासी परिवारको हातमा लालपूर्जा
द्वन्द्वकालमा माओवादीले कब्जा गरेको जमिन भूमिहिनलाई
प्रकाशित २०७३ माघ २६ बुधबार
1k
Shares
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनका एक सय ६० सुकुम्वासी परिवारलाई जग्गा धनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरेका छन् । वुधबार भरतपुर उपमहानगरपालिका–१८ मंगलपुरको सुकुम्वासी टोलमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री दाहालले लालपूर्जा वितरण गरेका हुन् ।
माओवादीले द्वन्द्वकालमा कब्जा गरेको जमिन सम्बन्धित जग्गा धनीलाई मञ्जुर गराई सुकुम्वासी परिवारका नाममा पास भएपछि प्रधानमन्त्रीले लालपूर्जा वितरण गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । माओवादी पार्टीकै पहलमा नामसारी गरेको जग्गा वन वा सरकारी नभएको प्रेस सल्लाहकार आचार्यले बताए ।
लालपूर्जा वितरण कार्यक्रममा छाटो सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘म प्रधानमन्त्री हुँदा सुकुम्वासीलाई सवै ठाउँबाट उठाउने काम भइरहेको थियो । म प्रधानमन्त्री भए लगत्तै मेरो पहिलो काम नै सुकुम्वासी परिवार जहाँ बसेका छन् तहीँ बस्ने दिने र व्यवस्थापन बारे सोच्ने । अब भूभि सुधारले एउटा प्रस्ताव ल्याउँदैछ । सुकुम्वासीको रोजगार सहितको दीगो व्यवस्थापनका लागि । मैले क्याविनेटबाट पास गर्ने तयारी गरेको छु ।’
धेरै लामो संघर्षपछि भूमिहिनहरुले जग्गाधनी प्रमाण पूर्जा पाउनु सुखद् भन्दै प्रधानमन्त्री दाहालले यो टोलमा पानीको समस्या छ भन्ने सुनेको छ, त्यो पनि चाँडै समाधान हुन्छ , भने । यत्तिले मात्र सुकुम्वासीको समस्या समाधान भएको भन्ने मलाई लागेकै छैन, दाहालले भने, ‘अब रोजगारसहितको व्यवस्थापनमा सरकार लागेको छ । हामीले केही कुरा संविधान कार्यान्वयन र कानुन बनाउने बेलामा पनि व्यवस्थापन गर्नु छ ।’
प्रधानमन्त्री दाहालले आफुहरु अब निर्वाचन केन्द्रित भएको भन्दै तीनै तहको निर्वाचन गरेपछि मुलुक स्थिरता तिर जाने र समस्या समाधानको बाटो सहज हुँदै जाने बताए । अहिले अतिवादीहरु हावी हुन लागेको भन्दै प्रधानमन्त्री दाहालले आफुहरुको काम गर्ने स्प्रीडलाई कसैले रोक्न नसक्ने ठोकुवा गरे । स्थानीय तहको निर्वाचन जेठमै हुने जिकिर समेत प्रधानमन्त्रीले गरेका छन् ।