arrow

१२ केजी वजन भएका शिक्षक कृष्णप्रसाद पौडेल सम्मानित

मन्त्री भन्छन्,‘जेठको पहिलो हप्ता चुनाव गर्नेगरि मिति घोषणा हुन्छ

logo
प्रकाशित २०७३ माघ २६ बुधबार
samman-ko-news.jpeg
काठमाडौं। रिपोर्टर्स क्लब नेपालले अर्घाखाँची जिल्ला ठूला पोखरा वडा नं. २ का ६३ वर्षीय शारिरिक अपांगता भएका कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ। बुधबार काठमाडौंस्थित् रिपोर्टर्स क्लबको मुख्यालयमा विशेष कार्यक्रम आयोजना गरेर पौडेललाई सम्मान गरिएको हो। अर्घाखाँचीमा शिक्षाको ज्योति फैलाएर झण्डै चार दशकसम्म शिक्षण पेशामा सक्रिय रहेर अनुकरणीय काम गरेको भन्दै उनलाई महिला, वालवालिका तथा समाज कल्याण मन्त्री कुमार खड्का, पूर्वउपप्रधानमन्त्री एवम् सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, क्लबका सभापति ऋषि धमलाले संयुक्त रुपमा टिका, खादा तथा टोपी लगाएर सम्मान गरेका थिए। 
 
सम्मानित व्यक्तित्व पौडेल जन्मदा तन्दुरुष्त र पाँच कक्षासम्म दर्शनानन्द योगीको सहयोगमा अध्ययन र स्वास्थ्य ठीक थियो। उनलाई ११ वर्षको उमेरमा एक्कासी ज्वरो आएको र रोगले च्याप्दै जाँदा अवस्था जटिल र बनेको र शारिरिक रुपमा अहिले खुट्टा खुजिए र हातपनि उस्तै छन्। 
 
पौडले शारिरिक रुपमा अशक्त रहेपनि साना बालबालिकाहरुलाई चार दशकभन्दा बढि समय शिक्षण कार्यमा समय व्यतित गरेका थिए। तर अहिले आएर बाँच्नको लागि संघर्षरत छन्। उनकै प्रयासमा वि.सं. २०३१ देखि २०४० सम्म चौरमै बसेर र उनकै अथक प्रयासमा २०४२ सालमा त्यहाँ भगवती प्रा.वि. को स्थापना गरेर त्यहाँ ४२ वर्षसम्म पढाएका थिए। विशेषगरि उनको खानेनली सुक्दै गएको छ र यसको उपचारको लागि उपकरण राख्नुपर्ने यसको लागि करिब ८० हजार रुपैयाँ लाग्ने हुँदा सहयोगको लागि सरकारसामू आग्रह समेत गरिएको छ। 
 
पौडेलले बाँच बचाउ, र केही गर भन्ने नारा बोकेका छन्। शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएको वापत नेपाल सरकारले २०६७ जेठ १६ गते जनसेवाश्रीको मानपदवीमा सम्मान गर्ने घोषणा समेत गरेको थियो, तर त्यो पनि अहिलेसम्म पाएका छैनन्। अहिले उनको बाँच्ने आधार नभएको र राज्यले उनलाई उचित व्यवस्थाका साथ आजिवन न्यूनतम भत्ताको व्यवस्था र यस्तो अवस्थामा पनि उनको योगदानलाई मुल्यांकन गरि गीनीज बुकमा रेकर्ड राख्ने ईच्छा गरेका छन्। 
 
रिपोर्टर्स क्लब नेपाल अर्घाखाँची शाखाका सभापति रामकुमार क्षेत्रीको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री रायमाझीले पौडेलको सम्मानमा नेपाल सरकारले विशेष राहतको प्योकेज नै घोषणा गर्नुपर्ने बताए। 
 
उनले आफ्नो तर्फबाट उनको लागि शिक्षा मन्त्रालयबाट आजिवन भक्ता दिलाउनको लागि पहल गर्ने समेत विश्वास दिलाए। रायमाझीले थपे,‘साहित्यकार झमक कुमारी घिमिरेलाई जस्तैगरि उहाँलाईपनि आजिवन भक्ता वा एकमुष्ट रकम दिलाउनको लागि पहल गर्छु।’
 
उनले आफू आज निकै गौरवान्तित भएको बताउँदै भने,‘पौडेलजीको जिल्लामा जन्मिएर जनप्रतिनिधि हुनु गर्व गर्दछु, उहाँको सम्मानको लागि म जस्तोसुकै सहयोग गर्नपनि कुनै कसर बाँकी राख्दिन्।’ उनले पौडेल अर्घाखाँचीमा मात्रै नभएर पूरा देशको लागि नै प्रेरणाको स्रोत भएको बताए। 
 
त्यस्तै उनले पौडेलको उपचारको लागि स्वास्थ्यमन्त्री गगनकुमार थापासँग कुरा गर्ने र उपचारको लागि जतिसक्दो चाँडो पहल गर्ने प्रतिबद्धता जनाए। उनले भने,‘उहाँ अत्यन्तै सम्मानित व्यक्तित्व हो, शारिरिक रुपमा कमजोर भएपनि मानसिक रुपमा उहाँले ज्ञानको उज्यालो नै छर्ने काम गर्नुभएको छ।’ नेता रायमाझीले ६३ वर्षीया पौडेल अहिले जम्मा १२ केजी मात्रै भएको र ४२ वर्ष लामो समयसम्म अध्यापन गराएको कुरा विश्वमै दुर्लभ भएकोले गिनिज वुक अफ रेकर्डको लागि मिडियाले प्रचारप्रसार गरेर सहयोग गर्नुपर्ने आग्रह गरे। 
 
उनले क्लबका सभापति ऋषि धमलाले पौडेललाई अर्घाखाँचीमै पुगेर सम्मान गरेको आफूले अहिलेपनि स्मरण गरिरहेको बताउँदै भने,‘ऋषिजीले उहाँलाई अर्घाखाँचीमै पुगेर सम्मान गर्नुभएको थियो, त्यतिखेर उहाँले बोलेको कुरा पुरा गर्नुभयो, म निकै आभारी छु, अब उहाँको लागि ऋषिजीले पूनः सहयोग गर्नुपर्छ, मिडियाको तर्फबाट सक्दो सहयोग गर्नुपर्छ।’ उनले पौडेललाई यसरी सम्मान दिलाउन र उनको योगदानलाई कदर गर्न रामकुमार क्षेत्रीले पहिलेदेखि नै विशेष योगदान पुर्याएको भन्दै प्रशंसा गरे। 
रायमाझीले आफू संविधान संशोधनको विरोधी नभएको जिकिर गर्दै भने,‘म संशोधनको विरोधी होईन, तर ५ नम्बर प्रदेशको सिमाना हेरफेर गर्ने कुरामा मेरो विरोध हो, अहिले संविधान कार्यान्वयन गर्नुपर्छ।’ उनले मुलुकको पछिल्लो अवस्था 
 
त्यस्तै मन्त्री खड्कालेपनि पौडेलजस्ता शारिरिक अपांगत भएरपनि मुलुकको लागि योगदान दिनेहरु धेरै जना भएकोले उनीहरुको लागि सरकारले नीतिगत लाभका कार्यक्रमहरु अघि सार्नेगरि आफूले पहल गर्ने बताए। उनले भने,‘राज्य भनेको लोककल्याणकारी हो, त्यसैले उहाँहरुको लागि मैले आफ्नो तर्फबाट सक्दो सहयोग हुनेगरि नीतिगत कार्यक्रमहरु नै अघि सार्नेछु।’
 
उनले क्लबका सभापति ऋषि धमलाले पौडेललाई काठमाडौंमा ल्याएर यसरी सम्मान गर्ने अवसर जुराएको भन्दै धमलाको अनुकरणीय कामबाट आफू प्रेरित भएको बताए। उनले भने,‘सधैं राजनीतिक विचार मन्थन हुने ठाउँमा आज यस्तो सामाजिक काम भएको देख्दा म निकै खुशी छु, धमलाजीले उदाहरणीय काम गर्नुभयो, उहाँलाई मेरो साधुवाद छ।’ मन्त्री खड्काले पौडेललाई सरकारले घोषणा गरेको सम्मान पदक दिलाउनको लागि पनि सरकारका मुख्यसचिव र प्रधानमन्त्रीसँग यसबारेमा कुरा गर्ने जनाए। 
 
फरक प्रसँगमा मन्त्री खड्काले आगामी ०७४ जेठको पहिलो हप्ताभित्रै चुनावको हुने समेत विश्वास दिलाए। उनले भने,‘चुनावको लागि सरकार प्रतिबद्ध छ, हामी आगामी जेठको पहिलो हप्ताभित्रै चुनाव गर्नेगरि मिति घोषणा गर्ने तयारीमा जुटेका छौं।’ उनले मधेशी मोर्चा लगायत असन्तुष्टहरुको मागलाई सम्बोधन गरेर चुनावको मिति घोषणा हुने विश्वास दिलाए।  
 
क्लबका सभापति ऋषि धमलाले सम्मानित व्यक्तित्व पौडेल राष्ट्रकै गहना भएको बताउँदै उनको गाँस, बास र कपासको लागि सरकारले व्यहोर्नुपर्ने बताए। उनले त्यसको लागि आफ्नो ठाउँमा सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 
 
धमलाले थपे,‘जीवनमा उहाँले यस्तो अनुकरणीय काम गर्नुभएको छ, जसको पुस्तौं पुस्ताले नेपालमा ग्रहण गर्नेछन्, उहाँ सम्मानित व्यक्तिव्य हो, तर उहाँलाई आज निकै ठूलो समस्या परेको छ, ज्ञानको ज्योति फैलाउनुभएको उहाँ हामी सबैको गुरु हो, यस्तो अवस्थामापनि उहाँले त्यतिवेलाको समयमा शिक्षाको उज्यालो किरण छर्दे ज्ञानको मन्दिर विद्यालय खोल्नुभयो, त्यसैले उहाँको जिविकापार्जनको लागि त्यहाँका राजनीतिक दलका नेता तथा सरकारका मन्त्रीहरुले समेत विशेष सुनिश्चितता गर्नुपर्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ