चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले हरहालतमा निर्वाचन हुने बताएका छन् । प्रधानमन्त्री दाहालले अब कुनै पनि हालतमा निर्वाचन नरोकिने वताउँदै सरकारले तीन तहको निर्वाचन गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान नै लाभारिस हुने खतरा रहेको बताए ।
उद्योग संघ चितवनले निर्माण गर्न लागेको चितवन औद्योगिक प्रदर्शनी केन्द्रको बुधवार भरतपुरमा शिलन्यास गर्दै प्रधानमन्त्री दाहालले संविधानको स्वीकार्यता बढाउन संविधान संशोधन गरी निर्वाचनतर्फ जानुपर्ने बताए । प्रधानमन्त्री दाहालले भने, ‘हामीले कसैलाई निषेध गर्यौं र अपमानित गर्यौं भने राष्ट्रिय एकता र स्वाधिनतामा नै अप्ठ्यारो पर्ने स्थिति छ ।’
हाम्रो राष्ट्रिय एकताको संवेदनशीलतालाई मनन गरेर अगाडि बढ्न आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘हामी सबैलाई समेटेर निर्वाचनमा लैजान चाहन्छौं, तर अनिश्चित होइन । यो कुरा सबैले बुझिदिनु पर्यो ।’ देशलाई विखण्डन गर्न खोज्ने प्रवृत्ति, अलग देशका कुरा गर्ने प्रवृत्तिमाथि कुनै हालतमा सरकारले छुट नदिने भन्दै उहाँले दुनियामा त्यस्तो देश छैन, जसले अलगाव देशको कुरा गरेर हिँड्नेहरुलाई छुट दिन सकोस् भने । नेपालको ईतिहास स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, स्वाधिन रहँदै आएको भन्दै प्रधानमन्त्रीले भने, ‘लोकतन्त्रको अहिलेको जमानामा देश टुक्राउने कुरा गर्नेहरुलाई छुट दिन सकिंदैन । सरकार कठोर रुपमा प्रस्तुत हुन्छ ।’
वास्तविक राष्ट्रवाद व्यवहारमा अभिव्यक्त हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले राष्ट्रलाई एकताबद्ध गरेर मात्रै राष्ट्रवादको अभिव्यक्ति हुनसक्ने बताए । अहिलेको सरकारलाई मधेश, पहाड, हिमाल जोड्ने ऐतिहासिक जिम्मेवारी रहेको बताउँदै दाहालले यसलाई सरकारले गम्भीर रुपमा लिएको बताए ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको प्रदर्शनी केन्द्र ३० करोड रुपैयाँको लागतमा निर्माण गर्न थालिएको हो । नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा ३० वर्षका लागि भाडामा लिएर १५ करोड सरकारले र १५ करोड निजी लगानीमा निर्माण गर्न लागिएको प्रदर्शनी केन्द्र अत्याधुनिक र सुविधासम्पन्न हुने बताइँदै छ ।