जनता हारेको मधेस, सर्वोच्चको आदेशले किन खुशी मनाउँदै छन् सबै पक्ष ?
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
946
Shares
तस्बिर : फाइल
जनकपुर । मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेस प्रदेश सरकारमा अन्योल सृजना भएको छ ।
मंगलबार (हिजो) सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । सो आदेशपछि मुख्यमन्त्री यादव समर्थकहरु खुशी मनाउँदै छन् ।
अदालतले मुख्यमन्त्री यादवलाई नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न मात्र भनेको तर मुख्यमन्त्री पदमा भने यादव तत्काल रहने भनेकाले मुख्यमन्त्री यादव समर्थक एमालेका सांसद, नेता तथा कार्यकर्ताहरुमा खुशी छाएको हो ।
सामाजिक सञ्जालमा उनीहरुले खुशी व्यक्त गर्दै मुख्यमन्त्री यादवको जीत भएको भन्दै बधाई दिइरहेका छन् ।
यता विपक्षीदलहरुलाई हेर्दा पनि उस्तै देखिन्छ । जितेन्द्र सोनल पक्षका ७ राजनितिक दलहरुले पनि अदालतको आदेशले आफूहरुको जित भएको भन्दै खुसीयाली मनाइरहेका छन् ।
अदालतले मुख्यमन्त्री यादवलाई नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्नु भनेकोले विपक्षी दलहरुमा खुसी छाएको छ ।
अब प्रदेश सभामा मुख्यमन्त्री यादवले विश्वासको मत लिन आए उनलाई हामी जवाफ दिने जसपा नेपाल मधेश प्रदेशक सचेतक एवम मधेस प्रदेश सभा सांसद रामआशिष यादवले बताए ।
हिजो सवोच्चले दिएको आदेमा मंसिर ११ गतेका लागि अन्तिम सुनुवाइ तोकेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हिजो अन्तरिम आदेश जारी गर्दै उक्त मितिमा पूर्ण इजलासमा मुद्दा पेश गर्ने निर्णय गरेको छ ।
यसै आदेशमार्फत अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई कुनै पनि नीतिगत वा दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न निर्देश दिएको छ ।
अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म यो आदेश लागू हुने उल्लेख रहेको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति संविधानसम्मत नरहेको भन्दै ७ दलका ७४ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए ।