झडपपछि सरकारमाथि ओलीको आक्रोश : सभा, सम्मेलनसमेत गर्न नदिएको आरोप
जेन–जीको नाममा बारामा पनि एमालेविरुद्ध ढुङ्गामुढा गर्न लगाइएको भन्दै यो सैह्य नहुने चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
1k
Shares
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो पार्टीलाई सभा, सम्मेलन समेत गर्न नदिएको आरोप लगाए।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बारामा पार्टीको कार्यक्रम सरकारले गर्न नदिएको भन्दै आक्रोश व्यक्त गरे। बुधवार बाराको सिमरा एयरपोर्टमा एमालेका कार्यकर्ता र जेन–जी पुस्ताबीच झडप हुँदा पार्टी महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत राष्ट्रिय युवा संघ नेपालको भेलामा जानबाट रोकिएका थिए।
ओलीले सोही घटनालाई लक्षित गर्दै प्रश्न गरे, “सभा गर्न नदिने सरकारले कसरी चुनाव गर्छ?”
उनले थप आक्रोश व्यक्त गर्दै भने, “बोल्न नदिने, सभा, सम्मेलन गर्न नदिने। बारामा हाम्रो युवा भेला थियो। सिमरा एयरपोर्ट बन्द भयो। नेताहरू जान पाउनुभएन। एयरपोर्टमा नै तोडफोड गर्न दिइयो। ५०/६० जना मान्छे आएर ढुङ्गामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने? अनि सरकार भन्छ चुनाव गर्ने रे।”
अध्यक्ष ओलीले जेन–जीको नाममा बारामा पनि एमालेविरुद्ध ढुङ्गामुढा गर्न लगाइएको भन्दै यो सैह्य नहुने चेतावनी समेत दिए। उनले विरोधीहरूले हमला गरिरहेको भन्दै एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।