arrow

सुदूरपश्चिमका साइपाल–अपि हिमाल क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाइँदै

पदमार्ग निर्माणको अध्ययन प्रारम्भ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
api-himal.jpg

बझाङ। सुदूरपश्चिम प्रदेशका साइपाल र अपि क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयत्न प्रारम्भ भएको छ।

नेपाल पर्यटन बोर्ड तथा सहारा नेपालद्वारा सञ्चालित दिगो पर्यटन परियोजनाले बझाङको साइपाल गाउँपालिकाको साइपाल हिमालदेखि दार्चुलाको अपि हिमाल आधार शिविर क्षेत्रसम्म पदमार्ग निर्माणको सम्भाव्यता अध्ययन थालेका हुन्। सहारा नेपालका स्रोत व्यक्ति वसन्त बोहराले साइपालदेखि अपिसम्मको पर्यटकीय विकासका लागि पदमार्गमा निर्माण गर्नुपर्ने भौतिक संरचनाका साथै अन्य अत्यावश्यक पूर्वाधारबारे दुई साता अध्ययन गरिएको बताए। उहाँले पहिलो चरणमा होमस्टे, विश्रामस्थल, पुलपुलेसा तथा पदमार्ग निर्माणका लागि अध्ययन भएको जानकारी दिँदै अब स्थानीयको सहयोगमा पूर्वाधार निर्माण थालिने बताए।

बझाङको साइपाल गाउँपालिकाको निलखटी हिमाल, सुर्मा गाउँपालिकाको बिरू ओडार र अपि हिमाल गाउँपालिकाको अपि आधार शिविर क्षेत्रको बीचमा पर्ने कालागाडमा पर्यटकका लागि धेरै संरचना बनाउनुपर्ने बोहराले बताए। पर्यटकीय क्षेत्रको विस्तारका लागि साइपाल गाउँपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा पर्यटकीय संरचना निर्माण गरिरहेको उक्त गाउँपालिकाका इन्जिनियर सुशील बोहराले जानकारी दिए।

मानव बस्तीको अन्तिम गाउँ धुलीबाट अपि हिमालको आधार शिविरसम्म पुग्न एक साताभन्दा बढी पैदलयात्रा गर्नुपर्छ। बीचमा पाँच हजार २०० मिटर उचाइमा रहेको निलखटी हिमाल पार गरेर बिरू ओढार, कालागाड हुँदै अपिको फेदसम्म पुगिन्छ। बोहराले हिउँदमा हिमाल क्षेत्र पार गर्न नसके पनि अरु बेला पर्यटकलाई यात्रा गर्न सहज हुने बताए। “विगतमा साइपालबाट अपि जाने पर्यटकलाई पैदलयात्राको समस्या हुन्थ्यो,” उनले भने, “अब त्यो समस्या हट्ने छ। अर्को वर्षदेखि पर्यटकले बाटोमा बासका साथै खाना पनि पाउने छन्। पर्यटकका लागि आधारभूत संरचना निर्माण गरिने छ।”

धुलीभन्दा माथि सञ्चारको समस्या भएकाले नेपाल टेलिकमसँगको साझेदारीमा त्यो समाधान गर्न सकिने बताउँदै उनले निलखटी पाटनसम्म नेटवर्क हुने हो भने पर्यटकलाई ठूलै राहत हुने बताए। साइपाल गाउँपालिका–३ का गोपी बोहराले पदमार्ग नभएकाले साइपालका सुन्दर स्थल आन्तरिक एवं बाह्य पर्यटकले देख्न नपाएको बताउँछन्। “अब बाटो खुलेपछि ताक्लाकोट जानेभन्दा बढी पर्यटक साइपाल–अपि रूटबाट यात्रा गर्ने विश्वास छ,” उनले भने।

पर्यटक आएपछि स्थानीयका लागि रोजगारीका अवसर सृजना हुनेमा साइपाल गाउँपालिका–४ धुलीका उमेश रोकाय ढुक्क छन्। उनले अपि–साइपाल क्षेत्रमा बाटो बनेपछि बेमौसममा पनि स्थानीयले काम पाउनेमा विश्वस्त रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ